काठमाडौं, १२ मंसिर । आयोजक संयुक्त अरब इमिरेट् (यूएई)सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आइतबार आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटको शीर्ष स्थानमा बस्दै ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई युएईविरुद्ध जितको विकल्प थिएन । प्रतियोगितामा दोस्रो हार व्यहोरेसँगै नेपाल एसिया छनोटबाट बाहिर भएको हो ।
युएईकी समाइरा धारनीधार्काले सर्वाधिक चार विकेट लिइन् । यस्तै, खुशी शर्माले दुई तथा छाँया मुगाल र चमानी सेनेविरान्ताले समान एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको योगफल तय गरेको थियो ।
युएईका लागि चमानीले ३६ बलमा सात चौकाको मद्दतमा अर्धशतकसहित ५२ रन जोड्दा त्रिथा सतिसले ४६ बलमा तीन चौकाको मद्दतमा ४७ रन जोडिन् । नेपालकी कविता कुवँरले दुई, सवनम राई, सीता राना मगर र संगीता राईले समान एक विकेट लिए ।
पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गर्दै जित निकालेको थियो । तेस्रो खेलमा कुवेतलाई नौ विकेटले पराजित गर्दा नेपालले चौथाे खेलमा मलेसियामाथि ६ विकेटको जित हात हासिल गरेको थियो ।
हारसँगै नेपालले सन् २०२३ मा हुने टी-२० महिला विश्वकप खेल्ने सपना अधुरै रह्यो ।