स्थायी दरबन्दी कायम गर्नुपर्ने मागसहित स्वास्थ्य सेवा व्यवस्थापक संघको प्रदर्शन

8.3k Shares

काठमाडौँ । स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी कायम गर्नुपर्ने माग राख्दै नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले काठमाडौँमा प्रदर्शन गरेको छ । 

स्वास्थ्य मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणमा अस्पताल व्यवस्थापक पदलाई समावेश नगरेको भन्दै संघले आइतबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो ।

ओ एन्ड एम गर्दा अस्पताल व्यवस्थापन अधिकृत सातौँ र नवौँ तह लगायतका पदलाई बेवास्ता गरी डाक्टर र नर्सहरूको मात्रै डाटा निकालेर सर्वेक्षण हुनु आपत्तिजनक रहेको संघका अध्यक्ष महेन्द्र राज भुसालले बताए । 

उनले सरकारी अस्पताललाई चुस्त दुरुस्त राख्दै राम्रो व्यवस्थापन गर्नका लागि स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी कायम गर्नुपर्ने माग राखे । 

प्रदर्शनका सहभागीहरूले स्वास्थ्य सेवा व्यवस्थापकको लोक सेवामा स्थायी दरबन्दी सिर्जना गर, स्वास्थ्य सेवा व्यवस्थापक विशुद्ध अस्पताल प्रशासनको मुहार परिवर्तक, ओ एन्ड एम सर्वेमा स्वास्थ्य सेवा व्यवस्थापकको दरबन्दी कायम गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अस्पताल सञ्चालन निर्देशिकाअनुसार ५० सय्याभन्दा माथिका अस्पतालमा अस्पताल व्यवस्थापक अनिवार्य रूपमा राख्नुपर्ने प्रावधानसमेत रहेको संघले जनाएको छ ।

सम्बन्धित समाचार