कपिलवस्तु । नेपाल प्रहरीमा हाकिमको संरक्षण भए पछि नीति , नियम र कानुन लाग्दैन भन्ने कुरा बारम्बार देखिदै नआएको होइन । नीति र कानुन भनेको नहुनेका लागि मात्रै हो । हुनेलाई सबै छुट छ । बेला बेलामा हाकिमले सबैलाई समान व्यवहार गर्छु , काखापाखा गर्दिन , नीति र कानुन सबैलाई बराबर हो भन्ने भाषण केवल बोल्नका लागि मात्रै हो । अरूलाई सुनाउन मात्रै हो । यो कुरा व्यवहारमा प्रमाणित भैरहेको छ ।
यस्तै घटना जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र मातहतमा भएको घटनाले प्रष्ट पार्छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र मातहत काजमा बसेका केही प्रहरीलाई रातारात दरबन्दीमा रमाना दिने काम भयो । हामीलाई प्राप्त जानकारी अनुसार अन्यत्र दरबन्दी भएका सहायक हवल्दारहरू नरेश कुर्मी , मनोज कुर्मी , लक्ष्मण चौधरी , संजय र अर्को एक जना गरि पाँच जनालाई रमाना गरिएको छ । दरबन्दी पठाउ अभियान यसअघिका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरले चालेको भए पनि उनी सफल त भएनन् । तर धेरै हदसम्म उनले अभियानलाई सफल बनाए । यी पाँच जनाको दरबन्दी अन्यत्र भएकोले दरबन्दीमा रमाना गर्नु अस्वाभाविक नभए पनि त्यो दरबन्दी पठाउ अभियान सबैलाई लागू हुनुपर्छ भन्ने कुरा प्रमुख हो ।
नीति नियम सबैलाई एकै प्रकारले लागू गरिनुपर्छ भन्ने कुरा हो । तर यही कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा कार्यरत असई श्याम चौधरी र हवल्दार दिपेन्द्र यादवलाई भने अझैसम्म दरबन्दीमा रमाना गरिएको छैन । असई चौधरीको दरबन्दी गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा हो भने हवल्दार दिपेन्द्रको दरबन्दी काठमाडौ महाराजगन्ज स्थित दुई नम्बर गण हो । उनीहरूलाई अझैसम्म दरबन्दी रमाना गरिएको छैन । कपिलवस्तु जिल्ला प्रहरी कार्यालयको कर्मचारी प्रशासन स्थित हाम्रो समाचार स्रोतका अनुसार उनीहरूलाई रमाना नगराउन मानवस्रोत विभागका अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले दबाब दिएका छन् । यी दुबै जना दानबहादुर कार्की कपिलवस्तु जिल्लाको एसपी र लुम्बिनी प्रदेशको डिआइजी भएको बेलामा घुमुवाको रूपमा कार्यरत थिए । असई श्याम चौधरी त प्रहरीमा जागिर खाए देखि नै एकाध महिना बाहेक सधैं कपिलवस्तु जिल्लामा नै घुमुवाको रूपमा परिचालित छन् । भोलि प्रहरी संगठनको नेतृत्वको दावेदार मानिएका एआइजी दानबहादुर कार्कीले यस्ता बदनाम पात्रलाई किन सधैं आफू नजिक राखेर संरक्षण गरिरहेका छन् । यहाँका प्रहरीहरू सधै यही प्रश्न गर्ने गर्छन्