बर्दीको मर्यादा कि म्युजिक भिडियोको मोह ?, सशस्त्र प्रहरीमा ड्युटी गर्ने जनशक्तिको अभाव, मुख्यालयमा भने गीत–संगीतको नाममा कर्मचारी परिचालन गरेको आरोप

1.4k Shares

काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्य जिम्मेवारी सीमा सुरक्षा, विपद् उद्धार, दंगा नियन्त्रण, महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा तथा आवश्यकताअनुसार नागरिक सुरक्षामा परिचालन हुनु हो। तर पछिल्ला केही गतिविधिले संगठनको मूल जिम्मेवारी र सांस्कृतिक गतिविधिबीचको प्राथमिकतामाथि प्रश्न उठाएको छ।
करिब ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरी बल ७७ वटै जिल्लामा परिचालित छ। सीमित जनशक्तिबाट चौबीसै घण्टा फिल्ड ड्युटी, सीमा सुरक्षा र विपद् व्यवस्थापन गर्नुपर्ने अवस्थामा संगठनभित्रकै केही कर्मचारीलाई लामो समयसम्म गीत–संगीत तथा म्युजिक भिडियो निर्माणमा परिचालन गरिएको आरोप लागेपछि यसको औचित्यमाथि प्रश्न उठेको हो।
विशेषगरी सशस्त्र प्रहरीका हबल्दार नरेश एमसीसँग जोडिएका केही म्युजिक भिडियोमा संगठनको बर्दी र ठूलो संख्यामा सुरक्षाकर्मी प्रयोग गरिएको विषयले अहिले संगठनभित्रै असन्तुष्टि बढाएको स्रोतको दाबी छ। एमसी सांस्कृतिक शाखामा कार्यरत नरहे पनि नियमित रूपमा दोहोरी तथा गीत निर्माणमा सक्रिय रहने र त्यस्ता गतिविधिमा संगठनभित्रबाटै सहयोग तथा संरक्षण प्राप्त हुने गरेको स्रोतको आरोप छ।
एक अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा भने, “सशस्त्र प्रहरीको बर्दी गीतको भिडियोमा नाच्ने र देखिने तहमा पुग्नु आफैंमा गम्भीर विषय हो। संगठनको पहिचान र बर्दीको गरिमा कायम राख्ने कि मनोरञ्जनका लागि प्रयोग गर्ने भन्ने प्रश्न उठेको छ।”
स्रोतका अनुसार एमसीले निर्माण गर्ने केही म्युजिक भिडियोमा संगठनका विभिन्न दर्जाका कर्मचारीलाई समेत सहभागी गराउने गरिएको छ। कतिपय भिडियोमा वरिष्ठ प्रहरी अधिकृतसमेत देखिने गरेको र आफूले गीत लेख्ने तथा भिडियो बनाउने क्रममा संगठनका कर्मचारी र स्रोत–साधन प्रयोग गर्ने प्रवृत्तिले संस्थागत अनुशासनको प्रश्न उठाएको स्रोतको दाबी छ।
हबल्दार, तर भिडियोमा इन्सपेक्टरको फुली ?
यस प्रकरणको अर्को विवादित पक्ष बर्दीमा प्रयोग गरिएको दर्जासम्बन्धी चिन्ह रहेको स्रोत बताउँछ। एमसी हबल्दार भए पनि केही भिडियोमा इन्सपेक्टरको फुली प्रयोग गरिएको देखिएको दाबी गरिएको छ।मुख्यालयका एक स्रोतका अनुसार बाहिरका कलाकारलाई निश्चित प्रक्रिया र अनुमति लिएर म्युजिक भिडियो वा अन्य प्रचारात्मक सामग्रीमा संगठनको बर्दी प्रयोग गर्न दिइन सक्ने भए पनि संगठनभित्रकै कर्मचारीले आफ्नो वास्तविक दर्जाभन्दा माथिको चिन्ह प्रयोग गर्नु गम्भीर विषय हुन सक्छ।
“कुनै कलाकारलाई अनुमति लिएर बर्दी लगाउन दिनु र संगठनकै कर्मचारीले आफ्नो दर्जाभन्दा फरक फुली लगाउनु एउटै कुरा होइन,” मुख्यालय स्रोतले भन्यो, “यस विषयमा सम्बन्धित निकायले स्पष्ट छानबिन गर्नुपर्ने देखिन्छ।”यद्यपि, उक्त आरोपबारे सम्बन्धित व्यक्तिको आधिकारिक धारणा र संगठनको औपचारिक स्पष्टीकरण सार्वजनिक रूपमा स्पष्ट हुन बाँकी छ।
फिल्डमा जनशक्ति अभाव, भिडियोमा सयौं कर्मचारी ?
सशस्त्र प्रहरीको वास्तविक चुनौती भने फिल्डमै देखिन्छ। सीमा क्षेत्रमा नियमित गस्ती, राजस्व चुहावट नियन्त्रण, विपद् उद्धार तथा सुरक्षा ड्युटीका लागि जनशक्ति परिचालन गर्नुपर्ने संगठनमा उपलब्ध जनशक्तिको प्रभावकारी व्यवस्थापन आफैंमा चुनौतीपूर्ण छ।यस्तो अवस्थामा म्युजिक भिडियो निर्माणका लागि रंगशाला वा अन्य स्थानमा महिनौंसम्म कर्मचारी परिचालन गर्ने गरिएको आरोपले संगठनभित्रको जनशक्ति व्यवस्थापनमाथि प्रश्न उठाएको छ।
स्रोतका अनुसार भिडियो निर्माणका क्रममा ठूलो संख्यामा सुरक्षाकर्मीलाई बर्दीसहित सहभागी गराउने गरिएको छ। “फिल्डमा ड्युटी गर्ने कर्मचारीको अभाव छ, तर यहाँ म्युजिक भिडियो बनाउने नाममा सयौं कर्मचारी परिचालन भएको देखिन्छ,” हलचोकस्थित एक स्रोतले भन्यो।यसले एउटा आधारभूत प्रश्न जन्माएको छ—सुरक्षा संगठनका कर्मचारीको प्राथमिक जिम्मेवारी के हो? सांस्कृतिक गतिविधि संगठनको मनोबल वृद्धि गर्ने माध्यम हुन सक्छ, तर त्यसका लागि नियमित सुरक्षा ड्युटी प्रभावित हुने गरी जनशक्ति र सरकारी स्रोत प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने विषय स्पष्ट हुन आवश्यक छ।
भोटेकोशीमा सुरक्षाकर्मी मैदानमा, मातातीर्थमा नाचगान ?
यो विवाद अझ गम्भीर बन्नुको एउटा कारण विपद्को समयमा भएको भनिएको जनशक्ति परिचालन हो।भोटेकोशी क्षेत्रमा बाढी तथा पहिरोको समयमा सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मी उद्धार र राहतमा लामो समयसम्म खटिएका थिए। कतिपय सुरक्षाकर्मी घण्टौंसम्म खानपानको समेत पर्वाह नगरी उद्धारमा परिचालित हुनुपरेको थियो।तर सोही समयमा म्युजिक भिडियोसँग सम्बन्धित टोली मातातीर्थ क्षेत्रमा नाचगानमा व्यस्त रहेको स्रोतको दाबी छ। एउटै संगठनका एक समूह विपद्को जोखिममा नागरिक उद्धारमा खटिनुपर्ने र अर्को समूह मनोरञ्जनात्मक सामग्री निर्माणमा व्यस्त रहने अवस्था देखिएमा त्यसको औचित्य र प्राथमिकतामाथि प्रश्न उठ्नु स्वाभाविक हुने स्रोतको भनाइ छ।
सशस्त्र प्रहरीभित्र सांस्कृतिक गतिविधिको आफ्नै महत्व हुन सक्छ। गीत, संगीत, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिले कर्मचारीको मनोबल बढाउन पनि भूमिका खेल्न सक्छन्। तर त्यसका लागि संगठनको बर्दी, जनशक्ति र सरकारी स्रोतको प्रयोग कुन सीमासम्म गर्ने भन्ने स्पष्ट मापदण्ड आवश्यक देखिन्छ।
यसअघि पनि केही उच्चपदस्थ प्रहरी अधिकृतले गीत लेख्ने, कम्ब्याटमा कर्मचारी परिचालन गर्ने र म्युजिक भिडियो निर्माण गर्ने गरेको चर्चा संगठनभित्र हुने गरेको थियो। तर त्यस्ता गीत र भिडियो सम्बन्धित अधिकारीको अवकाशसँगै हराउने गरेको गुनासो पनि सुनिन्छ।यसले अर्को प्रश्न खडा गर्छ—व्यक्तिगत प्रचार वा मनोरञ्जनका लागि बनाइने सामग्री र संगठनको संस्थागत सांस्कृतिक उत्पादनबीच सीमा कहाँ कोर्ने?सुरक्षा संगठनमा बर्दी केवल पोसाक होइन, राज्यको अधिकार, अनुशासन र जिम्मेवारीको प्रतीक हो। त्यसैले बर्दीको प्रयोगसँग जोडिएका हरेक गतिविधिमा संस्थागत स्वीकृति, उद्देश्य, मर्यादा र जवाफदेहिताको प्रश्न स्वाभाविक रूपमा जोडिन्छ।
सशस्त्र प्रहरी बलले सांस्कृतिक गतिविधि गर्न नहुने होइन। तर ३७ हजार जनशक्ति भएको सुरक्षा संगठनमा फिल्ड ड्युटी, सीमा सुरक्षा र विपद् उद्धारभन्दा म्युजिक भिडियो निर्माण प्राथमिकतामा परेको हो कि होइन भन्ने प्रश्नको जवाफ संगठनले आफैं दिनुपर्ने अवस्था देखिएको छ।यदि बर्दीको प्रयोग आवश्यक हो भने त्यसको स्पष्ट मापदण्ड, अनुमति प्रक्रिया, कर्मचारी परिचालनको सीमा र दर्जा–चिन्हको प्रयोगसम्बन्धी व्यवस्था सार्वजनिक हुनुपर्छ। अन्यथा, सुरक्षा संगठनको बर्दी मनोरञ्जनको पर्दामा देखिँदा त्यसले संगठनको सांस्कृतिक पहिचानभन्दा बढी अनुशासन, स्रोतको उपयोग र संस्थागत मर्यादामाथि प्रश्न उठाउने जोखिम रहन्छ।

सम्बन्धित समाचार