-डी.बी.शाही
बि.स. २०६४ सालमा राजतन्त्रकाे बहिर्गमन पछि चैत २८ गते २०६४ मा नै नेपालमा पहिलाे पटक प्रथम संबिधान सभाकाे निर्वाचन गर्ने निर्णय र मिति ताेकिए पछि कालिकाेट जिल्लामा उपस्थिति जनाउने सबै पार्टीहरुले आआफ्ना दलका उम्मेदवारका नाम ताेके बि.स.०४८ मा बहिस्कार गरेकाे नेपाल कम्युनिष्ट पार्टी मशालकाे भातृ संगठन राष्ट्रीय जन माेर्चाले पनि आफ्नु उम्मेदवार लामाे समय पार्टीमा सक्रिय भएर काम गरेका राजमाेका के.स. क.देवजङ्ग शाहीलाई आफ्नु उम्मेदवार ताेक्याे । उहाँकाे उम्मेदवारी कन्फर्म भए पछि बहिनी एलिजा शाहीले ल दादालाई मत दिन जानु पर्छ भनेर जाेर गरेपछि म मेराे पत्नी रत्ना शाही अनि बहिनी एलिजा शाही हामी तिन जनाले कालिकाेट जाने फैशला गरेर काठमाडाैंबाट कालिकाेट तिर लाग्याैं अर्काे दिन बिरेन्द्रनगर सुर्खेत पुगेर त्यहाँ सिंचाइ बिभागमा इन्जिनियर भाइ मंगल शाही कहाँ राती बास बसेर बिहानै मान्म खाँडाचक्रकाे बसमा ( टिकट अघिल्लै दिन बुक गरेकाे थियाे ) चढ्न बसपार्क पुगेर एकछिन उभिएकाे हामीले टिकट बुक गरेकाे बस अलि ढिला जाने र एउटा अर्काे बस त्याे भन्दा एकघण्टा अगाडी जाने भने पछि टिकट फिर्ता गर्न लगाएर छिटाे जाने बसमा चढियाे बस पनि तुरुन्तै हिडी हाल्याे ।
हामी खुशी थियाैं गन्तब्यमा चाँडै पुगिने भयाे भनेर रमाउदै गफ गर्दै अलि पर गए पछि बिच जंगलमा बस बिग्रियाे घाम पनि चर्कि सकेकाे थियाे बाहिर घाम पाेल्छ वरपर ५/७ किलाेमिटरसम्म कुनै पनि बस्ती छैन । बसकाे छत पनि तातेर बस भित्र आलु उसिनिए जस्तै उसिनु पर्दा लतारपतार हुन्छ हतार गर्दा भन्या यस्तै रहेछ भन्दै चित्त बुझाएर बस्नु पर्याे बल्लबल्ल दैलेख तिरबाट एउटा गाडी आयाेर त्याे बसकाे सहायक माथिबाट आएकाे बसमा सुर्खेत गएर सुर्खेतबाट मिस्त्री लिएर आयाे र बस बनाउन थाल्याे । बस नबन्दासम्म भाेक र प्यासले त्यतै तिर अकालै अब यमराजकाे प्याराे प भइन्छ कि भन्ने लाग्न थाल्याे । बस रिपियर भए पछि २ बजेतिर बड्डीचाैर पुगेर खाना र पानी खान पाउदा बल्ल जिउदै छाैं भन्ने आभास भयाे । बड्डीचाैरमा खाना खाएर २/३ घण्टाकाे यात्रा पछि तल्लाे डुङ्गेश्वर पुगियाे त्यहाँ चिया खाएर अगाडी बढेकाे केही समय मै ५/६ कि.मी.पर अनकण्टार भिरमा बसकाे पछाडिकाे पुरै चक्का नै निस्कि हाल्याे ,उकालाेमा भएर जाेगियाे ओरालाे भए बस खाेलातिर लाग्ने पुरै सम्भावना थियाे । अब त कुनै उपाए थिएन ,हामीले छाेडेकाे बस पनि आएर गयाे त्यसमा खुट्टाे राख्ने पनि ठाँउ थिएन । फेरि एकछिनमा मुसलाधार पानी पर्न थाल्याे पानी परेपछि त माथि पाखाबाट बसकाे छतमा ड्वाङ्ग ड्वाङ्ग ढुंगा खस्न थाले बाहिर भागाैं मुसलाधार पानी परेर अन्धकार छ हिलै हिलाे छ बस भित्र बसे बसकाे छतमा ढुंगा खसी राख्याछ ।
त्याे अवस्था पनि जीवनकाे अन्तिम घढीकाे प्रार्थना गर्नु बाहेक अरु केही विकल्व थिएन तर केही समय पछि पानी राेकियाे ढुंगा खस्न पनि छाेडे तर अब के गर्ने भन्ने कुनै उपाए नै देखिएकाे थिएन । बेलुकी छ बजेतिर एउटा खाद्यान्न बाेकेकाे ट्रक आयाे र बहिनी एलिजाले त्यस ट्रककाे चालकसंग अनुनय विनय गरेपछि उसले हामीलाई ठाँउ दियाे र राती ९/१० बजेतिर दैलेखकाे टुनिबगर पुगियाे,बाहिर पानी पर्दै छ गाडीहरु पनि त्यहाँबाट अगाडी जान दिएकाे रहेनछ । त्यही गाडीकाे चालकले उसकै गाँउका रहेछन हाेटल मालिक र त्याे चालक ,हाेटल मालिक र मेराे धर्मपत्नी रत्नाकाे माइती एउटै ठाँउ परेकाे र फलानाकाे छाेरी भन्ने थाह पाए पछि बल्ल उनिहरुले बस्ने अनुमति पनि दिएर राती कुखुरा काटेर मासुभात पनि खान दिए ।बिहानै देखिकाे भाेक, प्यास ,दुख ,थकाइ सबै बिर्से र मस्तसंग सुतियाे । बिहानै उठेर फ्रेस भएर अब अगाडि हिड्नु पर्याे भनेर साधनहरुकाे खाेजी गर्दा प्रहरीले पानी परीरहेकाे कारण आज यहाँभन्दा अगाडी गाडी जान्न भने पछि पैदल मार्च बाहेक अरु कुनै बिकल्प थिएन त्यस पछि एउटा छाता र दुइवटा प्लास्टिक किनेर अगाडीकाे यात्रा शुरु गर्याैं । एकदुइ घण्टाकाे हिंडाइ पछि हात खुट्टाले पनि काम गर्न छाडे जस्तै लाग्न थाल्याे ठाँउठाँउमा बस्दै हिड्ने भन्दा पनि सर्ने अवस्था आयाे एकछिन पछि एउटा ट्याक्टर भेटियाे र त्यसकाे चालकलाई अनुराेध गरे पछि हामीलाई ट्याक्टरमा चढाएर अघिबढेकाे तर खराब सडककाे कारण उफार्ने र थचार्ने गर्दा हिडेर यात्रा गर्दा हात खुट्टा मात्रै दुखेका थिए भने त्याे ट्याक्टरमा बसे पछि त पुरै जिउ,आन्द्रा भुडी फुट्लान जस्ताे गरि दुख्न थाल्याे ।
एक मिनेटकाे सय मिटरकाे ट्याक्टरकाे सफर जिन्दगीकै अत्यन्त भयानक थियाे हामी आत्तिएर ट्याक्टर राेकेर हामीलाई तल झर्न दिनु हाेस भन्दा त्याे ट्याकटरकाे चालकले हाँस्दै हामी माथि ब्यंग्य गर्दै " भाे पुग्याे " भनेकाे कुरा र त्याे मृत्यु मार्गमा गरेकाे बस,ट्रक र ट्याकटर अनि पैदल यात्राकाे सफर कहिलै डिलिट नहुने गरि मन मश्तिष्कमा बसेकाे छ र अहिले पनि त्याे सम्झिदा आङ् जिरिङ्ग हुन्छ ? त्यस पछिकाे सफर पनि जति पीडादायक छ केहीहदसम्म आनन्दमय र राेमान्चक थियाे । केही समयकाे हिडाइ पछि एउटा पिकअप भेटियाे र जितेगडा भन्ने ठाँउसम्म पुगेर त्यहाँबाट फेरि कर्णाली तरेर पारी आफ्नु गाँउ रास्काेट तिर लागियाे कर्णाली पुल तरेर पारी पुग्दा एकजना पुलकाे छेउमा छाता ओढेर जेरी पकाएकाे भेटे पछि जेरी खान बस्याैं त्याे जेरी पकाउने मान्छे त हाम्रै फुपु र धामी सिद्दिकर्ण शाहीका छाेरा, दाइ रहेछन् । बहिनी एलिजाले चिनेकाे रहेछ ,वेलुकी पनि भैसकेकाे र अंधेराे पनि हुन थालेकाेले नजिकै बस्ने ठाँउ छ कि भनेर साेधे पछि अलिपर लालिघाटमा ती दाइकै हाेटल रहेछ ,राति त्यतै बास बसियाे बिहानै चिया खाएर अगाडि बढ्याैं बाटाेमा ठाँउठाँउमा बाटाे मै खाना पकाएर बसेका साहुहरुले ल हजुर ताजाताजा खाना खानुहाेस भनिरहेका थिए ।
तर हामीले शान्ति बजार ( सान्नी गाड ) मा गएर आरामसंग खाना खाने र त्यही केही समय आराम गरेर वेलुकी तिर उकालाे चढ्ने याेजना बनाएर हिडेका करिब बिहानकाे ११.३० वजे तिर शान्तिबजार पुगियाे अनि त्यहाँ खाना खाजा खुवाउने ३/४ हाेटल रहेछन् हामीले खाना छ कि भनेर साेधे पछि ती ३/४ वटा हाेटलका साहुकाे एउटै जबाफ थियाे हामीले खाना खाइ सक्याैं पहिले त कुरा बुझिएन हामीले तपाइले खानु भयाे या खानु भएकाे छैन भनेर साेध्या हाेइन खाना छ कि भनेर साेध्या हाे भन्दा पनि त्यही जबाफ दिन्छन् । पछि आफैले एउटा हाेटलमा भाँडाकाे ढक्कन खाेलेर हेर्दा भात बचेकाे रैछ अलि दाल पनि रैछ र माछा सुकाएका रैछन आफैले त्याे माछा झिकेर माछाकाे झाेल अनि त्यही दालमा अलि पानी र नुन थपेर त्यही बचेकाे भात खायाैं । तर अहिले पनि त्यहाँका मान्छेकाे जीवन शैली कस्टप्रद किन रहेछ भन्ने कुरा याे घटनाले प्रष्ट पारेकाे छ । हाेटल काे बिजिनेस गरेर बसेपछि ग्राहक आउदा ल हजुर एकछिनमा सबै तयार हुन्छ बस्नु हाेस भन्नुकाे साटाे हामीले खाइ सक्याें भन्ने ब्यापारीले कस्ताे ब्यापार गरेकाे हाेला ,यस्ताे मानसिकता भए कसरी समाज विकसित हुन्छ ,कसरी अगाडी बढ्छ । कर्णालीलाई प्रकृतिले ठगेकाे पटक्कै छैन विकटताकाे बावजुद अति सुन्दर ठाँउ,प्राकृतिक साधनले असाध्य धनि छ तर दुख पाउनुकाे कारण प्राकृतिक विकटता र केन्द्रले गर्ने ब्यबहार भन्दा पनि त्यहाँका जनताकाे अल्छीपन सबैभन्दा बढी जिम्मेबार रहेकाे देखियाे ?
लहराे तान्दा पहराे भने जस्तै प्रसंगले बाटाे विराएर अन्तै पुगे जस्ताे देखिए पनि २०६४ सालकाे हाम्राे पीडादायिक राेमान्चक कर्णालीकाे सफर जस्तै केही समयदेखि आँधी हुरी जस्तै राजतन्त्र र हिन्दुराष्ट्र कायम गर्ने भनि उर्लिएकाे भिड र आवाज देख्दा पक्कै पनि आज त राजालाई नारायणहिटी दरबारमा छिराएर सिंहासनमा राख्छन हाेला भन्ने जस्ताे वातावरण बनेकाे र आम नागरिककाे त कुरै छाेडाै नेका र कतिपय कम्युनिस्टहरु ,अनि हिजाे हिन्दुहरुकाे विराेधमा उभिएका क्रिश्चियन पनि राजसंस्थाकाे पक्षमा आवाज उठाउन थालेकाे देख्दा सारा संसार नै राजसंस्था स्थापना हुने कुरामा विश्वास गर्न थालिसकेकाे जस्ताे वातावरण बनि सकेकाे देखिन्थ्याे तर बिडम्बना हामी कालिकाेट जाँदा बाटाेमा ट्याक्टरमा बसे जस्तै १०० मिटरकाे सफर पनि गर्न नसके जस्तै भयाे । गणतन्त्रवादीले देश बाँढेर देश टाट पल्टाउने काम गरे जस्तै राजावादीहरुले राजालाई नै लुछाचुड गरेर टुक्राटुक्रा पारेर ठुलाे भाग पाउने लाेभमा आफै टुक्राटुक्रा भएर कता हराए कता ?
अहिले आफ्नु असफलता,कमजाेरी,मिलेर हिड्न नसक्नुकाे कारण एकअर्कालाई दाेष दिएर, आन्दाेलन कमजाेर हुनुकाे कारण, संघर्ष गर्ने हामी आन्दाेलनकाे कमाण्डर अर्कै बनाउने, पैसा बाँढ्ने भन्ने जस्ता घटिया कुरामा आएर तुहाएका छन् भने अर्काेले पैसा बाँढ्याे भन्ने कुरा गर्नुकाे अर्थ राजाले आन्दाेलन चर्काउन सबैदलका नेताहरुलाई पैसा दिएर किन्नु पर्ने रैछ कि जस्ताे बातावरण बनेकाे देखिन्छ । अब जतिसुकै जाेर लगाए पनि मिसन ०८४ कुर्ने वाहेक अरु विकल्प नै छैन राजावादी दलहरुसंग र अप्रत्येक्ष रुपमा राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न सकिएन भने याे राष्ट्रकाे अस्मिता जाेगाउन गाह्राे छ भन्ने फाट्फुटे राजसंस्था र हिन्दुराष्ट्रका पक्षधरहरु संग । एकातिर अत्यन्त बदनाम भैसकेका,भ्रष्टाचारमा लिप्त,तस्करी र कमिशनका ठेकेदार गणतन्त्रवादी आपसी कलह, द्वेष र पानी बाराबारकाे अवस्थामा पुगेर एकअर्कालाई सिध्याउने खेलमा नाङ्गाे रुपमा सडक मै आएकाे देखिए पनि याे बदनाम गणतन्त्र जाेगाउन सकिएन भने हाम्राे अवसान निश्चिछ छ भन्ने डरले जतिसुकै तु तु मै मै गरेपनि राजसंस्था र हिन्दुराष्ट्र अब कुनै हालतमा फर्किन दिनु हुन्न भन्ने कुरामा एकमत छन् ।
उनिहरु ताक परे तिवारी नत्र गाेतामे बन्ने कलामा माहिर छन् भने अर्काे तिर राजावादीहरु राजसंस्था र हिन्दुराष्ट्र कायम गर्नु दिल्ली दुर हुदाँ हुँदै पनि कुकुर र बिरालाे जस्तै भाैं भाैं र म्याउँ म्याउँ गर्दै आपसी लडाइमा अल्झिएर जनताले दिएकाे साथकाे, जनताकाे आवाजकाे,जनताकाे चाहनाकाे अवहेलना गरेर मैदानमा खेलेर जितेर हाेइन चाेरेर पदक लिने र जितकाे पगडी गुथ्ने दाउमा अर्काे सहयात्रीलाई पछारेर म्याराथन शुर गरेका रैछन भन्ने कुराकाे पुष्टी गरेका छन् ? भाइ फुटे गवार लुटे भन्ने हिन्दु कहावतलाई हिन्दुराष्ट्र कायम गर्ने भनि जनता अगाडी मन्चमा कराउनेहरु स्वयंले अलिकति पनि साेच विचार गरेकाे देखिन्न । एकपटक चुचुरामा पुग्न लागेकाे मान्छे खस्याे भने फेरि चढनसक्ने आँटै जुटाउन गाह्राे हुन्छ । यदि राजा ल्याउने आवाजमा वास्तविकता छ भने आफ्नु नाक र दललाई हिन्दुराष्ट्र र राजसंस्था कायम नहाेउन्जेल पार्टी अफिसमा थन्क्याएर आन्खाेलनमा उत्रिने आँट गर्न सक्नु पर्याे र वास्तविक राजतन्त्रमा कुनै दल हुन्न त्यहाँ केवल राजा र रैति मात्रै हुन्छ भन्ने कुरा स्वीकार गरेर मैदानमा खेल्न उत्रिने हिम्मत जुराउन सक्नु पर्याे । अन्यथा आप पाकेर आफै झर्छ कि भनेर आपकाे रुख मुनि मुख आँ गरेर सुतेर बस्ने ?