उम्लिए पछि पोखिन्छ नै

13k Shares

बारा । बाराको ईलाका प्रहरी कार्यालय सिमराकी डिएसपी शुभद्रा वाइवा छानबिनका लागि मुख्यालय तानिएकी छिन् । जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा पुगेर डिएसपी शुभद्रा वाइवाले आइतबार पदिय आचरण विपरीत कार्य गरेपछि प्रहरी मुख्यालयले उनलाई छानबिनका लागि तानेको हो । डिएसपी वाइवाले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिब शान्तिराज प्रसाईको कार्यकक्षमा ताण्डब नृत्य देखाउनुको मुल कारण डिजेलको कुपन रहेको स्वयं डिएसपी वाईवाको भनाई छ ।

जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंसँग तेलको कुपनमा विवाद भएपछि उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । उनले आइतबार उपमहानगरपालिकासँग १०० लिटर डिजेल माग गर्दै एक जवान पठाएकी थिइन्। तर, सहसचिव प्रसाईले २० लिटर डिजेल र १० लिटर पेट्रोलको कुपन पठाएपछि उनलाई रिस उठ्यो। साँझ ५ः१५ बजे कार्यालय समयपछि उनी आफैं उपमहानगरपालिकाको कार्यालय पुगिन्। सहसचिव प्रसाई कार्यालयबाट निस्कने तयारीमा थिए। उनले डिएसपीलाई बस्न आग्रह गरे पनि तेलको कुपनमा चित्त नबुझेपछि उनले प्रहरीलाई हेपेको भन्दै आक्रोशित रूपमा प्रस्तुत भइन्।विवादको क्रममा डिएसपी वाइवाले जवानले ल्याएको कुपन च्यातेर सहसचिवको टेबलमा फ्याँकिदिइन्। उनले आफूले विगतमा १०० लिटर डिजेल लिँदै आएकोमा अचानक कुपन घटाइएकोमा असन्तुष्टि जनाउँदै कुपन च्यातेको र फोटो खिचेर राखेको बताइन्।

उनले वैशाख १० र ३१ गते सय लिटरका दरले उपमहानगरबाट कुपन लिएकी थिइन् । जबकि उपमहानगरले महिनामा सय लिटर इन्धन मात्रै दिने गरेको थियो । जेठ १८ मा थोरैको कुपन दिएको भनी वाइवाले विवाद गरेकी थिइन् ।डीएसपीले ज्यादती गरेको भन्दै उपमहानगरपालिकाले बाराका सीडीओ वसन्त अधिकारीलाई लिखित जानकारी गराएको थियो । सोही आधारमा प्रहरी प्रधान कार्यालयले छानबिन गरेको हो ।डिएसपी वाइवा इलाका प्रहरी कार्यालय सिमराको प्रमुख भएदेखि पटक–पटक विवादास्पद गतिविधिमा संलग्न छिन्। केही दिनअघि जीतपुर बजारको सांस्कृतिक महोत्सवमा स्टेज चढेर माइकको तार चुँडाएको र सिमरा विमानस्थलमा सर्वसाधारणलाई अनावश्यक हतकडी लगाएको घटनाले पनि उनको आलोचना भएको थियो।उनको ठाउँमा अर्का डीएसपी वेद जोशीलाई खटाइएको छ ।

सम्बन्धित समाचार