धरान (सुनसरी), जेठ २० गते । नेपालमा कमाइको सम्भावना नभएको भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या बढ्दोे छ । गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरू उत्तिकै छन् । अहिले युवा वैदेशिक रोजगारीको पछिपछि दौडिरहेका बेला वराहक्षेत्र नगरपालिका–११ मधुवनका २९ वर्षीय विवेककुमार महतो भने आफ्नै माटोमा उखु खेतीमै रमाइरहनु भएको छ । उहाँले रोजगारीको जोहो भने यहीँबाट गरिरहनुभएको छ । जीवन गुजारालाई विदेशको पर्खाइ भने छैन उहाँलाई ।
उहाँ भन्नुहुन्छ, “देशमै केही गर्न सकिन्छ भन्ने लाग्थ्यो, त्यसैले विदेश जाने सोच भने कहिले पनि पलाएन ।” उहाँले तीन वर्षपहिले दुई लाख ५० हजारको लगानीबाट अढाई बिघा जमिनमा उखु खेती सुरु गर्नुभएको थियो । उहाँले अहिले लगानी पनि बढाउनु भएको छभने उखु खेतीबाटै वार्षिक पाँच लाख बढी आम्दानी गरिरहनुभएको बताउनुभयो ।
“उखु खेतीमा मजदुरको अभाव भने हुँदैन, मजदुर पनि पाइन्छ”, उहाँले भन्नुभयो, “तर जलवायु परिवर्तनले भने चुनौती थपिरहेको छ ।” उखु वृद्धि र उत्पादनमा वातावरणीय असन्तुलनले भने प्रत्यक्ष प्रभाव पारिरहेको उहाँको अनुभव छ । विशेषगरी उखुको बच्चा लाग्ने समयमा अत्यधिक वर्षा हुदाँ बोटको जरा सड्ने, उखु पहेँलो हुने अनि उत्पादनमा कमी आउने समस्या भने हुने गरेको महतोले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यस्ता असमान्य मौसम परिवर्तनले प्रभाव पार्दा दीर्घकालीन रूपमा उत्पादनमा गिरावट ल्याउनसक्ने सम्भावना भने बढाएको छ ।”
“उखु खेतीमा सफल हुन र आम्दानी बढाउन वैज्ञानिक प्रविधिको उपयोग तथा जलवायु अनुकुल रणनीति अवलम्बन गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो । यसो गर्दा उत्पादनमा अझ वृद्धि हुनसक्ने उहाँको भनाइ छ । उहाँका अनुसार उखु रोपेको नौदेखि १० महिनामा काट्ने मिल्ने हुन्छ । उखु रोपाइँ फागुनदेखि चैतसम्म मानिन्छ । यो समयमा रोपिएको उखु मङ्सिरदेखि माघभित्र पाकेर काट्न योग्य हुन्छ । अरू बालीजस्तो हेरचाह गरिरहनु नपर्ने भएका कारण उखु खेती गर्न सहज हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बिक्रीका लागि बजारको समस्या भने हुँदैन, वार्षिक रूपमा एक हजार १०० देखि एक हजार २०० क्विन्टल बढी उखु उत्पादन हुँदै आएको छ ।” उत्पादित उखु सुनसरी र मोरङका विभिन्न चिनी उद्योगमा बिक्रीका लागि जाने गरेको उहाँले बताउनुभयो । महतोका अनुसार अहिले उखुप्रति क्विन्टल ६८५ मा बिक्री भइरहेको छ । उखुको मूल्य पछिल्लो समय केही वृद्धि भएकाले आफू सन्तुष्ट रहेको उहाँ सुनाउनुहुन्छ ।