नवलपरासी – पश्चिम नवलपरासी पश्चिम पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ मा पश्चिम नवलपरासी लुम्बिनी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभयो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्दै मन्त्री सारुले पृथ्वीचन्द्र जिल्ला अस्पतालमा डाक्टरको दरबन्दी पूर्ण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
यसअघि जिल्लाका सात वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो । कार्यक्रममा नवलपरासीमा अहिले खोप पाइरहेका १५ महिनामुनिका बालबालिका छ हजार चार सय ५७ जना रहेको र पूर्ण खोप प्राप्त गरेका १६ महिनादेखि ५९ महिनाका बालबालिकाहरु १८ हजार चार सय ५९ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिनुभयो ।
यस वर्ष खोप लगाउन छुटेका एक सय ७३ जना बालबालिकालाई खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।