प्रतिनिधिसभा : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग

9.3k Shares

काठमाडौं– नेपालको नागरिक उड्डयन क्षेत्र सुरक्षित गर्ने गरी कानुन बनाइनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
 
प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेद्वारा प्रस्तुत ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद राजेन्द्रकुमार केसीले उड्डयन क्षेत्र सुरक्षित गर्न कानुनी व्यवस्था आवश्यक भएकाले विधेयक आएको बताए । 

बैठकमा सांसद एकनाथ ढकालले प्राधिकरण सेवा प्रदायक र नियमनकारी दुवै निकायका रूपमा काम गरिरहेकामा यो विधेयकपछि त्यस्तो अवस्थाको अन्त्य हुने बताए । यसबाट उड्डयन क्षेत्रमा सुधार हुने उनको विश्वास थियो ।

सांसद प्रेम सुवालले मन्त्रालयअन्तर्गतको संस्था स्वायत्त हुन नसक्ने भएकाले विधेयकमा स्वायत्त शब्द राख्न नहुने विचार राखे । कुन काम सरकारले गर्ने र कुन निजी क्षेत्रलाई दिने भन्ने प्रस्ट हुनुपर्ने उनको विचार थियो । सौर्य एयर दुर्घटना हुँदा त्यसको सत्य तथ्य सार्वजनिक नभएको सांसद सुवालले सुनाए ।

सांसद शिशिर खनालले नियामक र सेवा प्रदायक फरक निकाय हुने व्यवस्थाले स्वार्थको द्वन्द्व नभएर व्यवस्थित हुने विचार राखे । विधेयकमा जबाफदेही हुने नदेखिएकाले त्यसलाई मिलाइनुपर्ने उनको भनाइ थियो । सार्वजनिक पारदर्शिता र सुरक्षाको विषयलाई पनि सुनिश्चित गर्न पनि सांसद खनालले माग गरे ।

सम्बन्धित समाचार