भीमाद नगरपालिकाका पूर्वमेयर थापाको निधन

9.8k Shares

पोखरा– तनहुँको भीमाद नगरपालिकाका पूर्वमेयर मेखबहादुर थापाको निधन भएको छ । ५५ वर्षे थापाको सोमबार दिउँसो काठमाडौंस्थित किष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

नेकपा एमाले भीमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापाका अनुसार, मेखबहादुर थापा लामो समयदेखि कलेजोसम्बन्धी समस्याबाट पीडित थिए । कलेजो प्रत्यारोपणको तयारी भइरहेका बेला उनको स्वास्थ्य अचानक बिग्रिएको थियो । 

आइतबार साँझदेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि सोमबार निधन भएको हो । उनकी छोरी निशा थापा कलेजो दान दिन सहमत भएकी थिइन् ।

थापाको पार्थिव शरीर सोमबार रातिसम्म भीमाद–२ स्थित निजी निवासमा ल्याइएको थियो । मंगलबार नगरपालिकामा अन्तिम श्रद्धाञ्जलीका लागि राखेर  सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारी लगायत नेताले उनको पार्थिव शरीरमा एमालेका झन्डा ओढाएका छन् । 

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थापाले आफ्नो कार्यकालमा नगर विकासमा सक्रिय भूमिका खेलेका थिए। उनका एक छोरा र एक छोरी छन् ।

गएको फागुन २३ गते उनकी पत्नी भोविमाया थापाको मिर्गौलाको रोगका कारण निधन भएको थियो । पत्नीको मृत्यु भएको डेढ महिनामै मेयर थापाको मृत्यु भएको हो ।

सम्बन्धित समाचार