सुनसरी– धरान उपमहानगरपालिका–६ स्थित पाचकन्या जंगलमा गत चैत २५ गते दिउँसो स्थानीय बासिन्दाहरूले एक महिलाको शव देखेर प्रहरीलाई जानकारी दिए।
प्रहरीले शव देखेर सूचना जारी गर्यो, ‘जंगलमा भेटिएको शव अन्दाजी ३०-३२ वर्ष उमेरको मंगोलियन महिला जस्तो देखिने वर्णको, नाकमा नत्था, कानमा टप लगाएको, माथि सेतो खैरो सर्ट, तल निलो जिन्सको पाइन्ट लगाएकी महिलाको शवको हातमा बोलानो ब्राण्डको घडी र सेतो बाला लगाएकी, सेतो खैरो कलरको जुत्ता लगाएकी महिला चिनेमा प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोला ।’

प्रहरीले सामाजिक सञ्जालमा तस्बिर राखेर सनाखत गर्ने आफन्तको पर्खाइमा रहेको बेला तीन दिनपछि उनी धनकुटाको महालक्ष्मी नगरपालिका–१ माइती भएकी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी भएको पहिचान खुल्यो ।
शवको प्रारम्भिक जाँच गर्दा आत्महत्या नभएर हत्या भएको आशंका गर्दै प्रहरी थप अनुसन्धानमा जुट्यो । चुनकुमारीको माइती पक्षले चैत २८ गते साँझ धरानमा किटानी जाहेरी दिए ।
जाहेरीमा हत्यारा खोजेर कारवाही माग गरिएको थियो । माइती पक्षले वैदेशिक रोजगारीमा दक्षिणकोरिया रहेका चुनकुमारीका ३१ वर्षीय श्रीमान् प्रेम बुढाथोकीलाई झिकाउनुपर्ने मागसमेत राखे । माइती पक्षले जाहेरी दिएपछि शव पोष्टमार्टम गर्ने बाटो खुल्यो । चैत २९ गते मात्रै चुनकुमारीको शवको पोष्टमार्टम भयो ।
डिभोर्स नदिँदा पतिकै निर्देशनमा हत्या
पति प्रेमकै सल्लाहअनुसार चुनकुमारी इटहरी उपमहानगरपालिकाको हलगडामा कोठाभाडा बस्दै आएकी थिइन् । उनले साथमा नाबालक छोरालाई राखेर पढाइरहेकी थिइन् । प्रहरीकाअनुसार कोरियामा रहेका पति प्रेम र चुनकुमारीबीच पारिवारिक विवाद र असनतुष्टि थियो ।
पति-पत्नीबीचको सम्बन्धमा धरार आएर तनाव बढ्दै गएको थियो । त्यसपछि प्रेमले डिभोर्स मागे । चुनकुमारीले नदिने अडान लिइन् । चुनकुमारीले डिभोर्स नदिने भएपछि प्रेमले नै हत्याको योजना बनाएर परिवारका अन्य सदस्यलाई त्यहीअनुसार काम गर्न निर्देशन दिएको रहस्य खुलेको छ ।
प्रहरीले चुनकुमारी हत्या प्रकरणमा कोरियामा रहेका प्रेमसहित परिवारकै ६ जना संलग्न भएको आरोपमा पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ परेका ६ जनामध्ये मृतकका पति प्रेमलाई कोरियाबाट आएलगत्तै प्रहरीले काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइसकेको छ ।