काठमाडौँ । युरोपेली मुलुक माल्टामा भव्यताका साथ ‘नेपाली डे’ मनाइएको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा माल्टाको भ्यालेटामा सोमबार विभिन्न कार्यक्रमसहित ‘नेपाली डे–२०२५’ मनाइएको हो ।
नेपालको राष्ट्रिय झन्डा फरफराउँदै, नेपालीको पहिचान झल्काउने राष्ट्रिय पोसाक लगाएर मौलिक पहिरन र पहिचानका साथ नेपाली समुदायका प्रतिनिधिहरू कार्यक्रममा सहभागी मात्रै भएनन् नेपाल र नेपालका पर्यटकीय गन्तव्य र महत्वबारे माल्टाबासीलाई जानकारी गराउने प्रयास समेत गरियो ।
नेपाली र माल्टाका नागरिक गरी करिब ४ हजार जनाको उपस्थिति रहेको कार्यक्रम ऐतिहासिक बनेको एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले दाबी गरे । उनका सो क्रममा अनुसार तामाङ समाज, मगर समाज, नेवार समाज, राई समाज, पूर्वाञ्चल समाज, नेपाली सोसाइटी माल्टालगायतले आफ्नो संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए । यस्तै लोकदोहोरी सांस्कृतिक परिषद्को प्रस्तुतिका साथै एनएसएम ब्याण्ड र एनएमबि ब्यान्डले नेपालीपन झल्कने आफ्नो प्रस्तुति समेत देखाएको थियो । यस्तै इन्टरनेशल सेफ सोसाइटी माल्टाले पनि आफ्नो आफ्नो प्रस्तुति देखाएको थियो ।