नारायणघाट–बुटवल सडक खण्ड वैशाख १५ गतेसम्म रातको समयमा बन्द

11.4k Shares
काठमाण्डौ – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि हिजोदेखि रातको समयमा बन्द हुन थालेको छ । सडक विस्तार छिटो सम्पन्न गर्न रातको समयमा सडक बन्द गर्न लागिएको हो ।
 
नारायणघाट–बुटवल सडक आयोजनाका अनुसार दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । आउँदो वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा गाडी रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार हुने आयोजनाले जनाएको छ ।
 
यसअघि चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो । दाउन्नेमा आजदेखि दैनिक चार घण्टासम्म सडक बन्द हुने आयोजनाका अनुसार साँघुरो क्षेत्रमा गाडी रोकेर मात्रै काम गर्न सहज हुने भएकाले रातको समयमा पहाडको भित्ता काट्न सडक बन्द गरिएको हो ।
 
दाउन्नेको पहाडमा भित्ता काट्ने काम १५ दिनमा सक्ने गरी रातको समयमा आवश्यकताअनुसार बत्तीको व्यवस्था गरेर काम अगाडि बढेको आयोजनाले जनाएको छ ।
 
नारायणघाट–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये एक सय किलोमिटर चार लेखनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार गर्न लागिएको छ । सामान्य पानी परेको बेलामा पनि हिलो हुँदा यहाँको सडकमा गाडी सञ्चालनमा कठिनाइ हुने गरेको छ ।
सम्बन्धित समाचार