पुख्र्यौली घर रामेछाप भए पनि काठमाडौं बौद्धमा जन्मिएका लक्ष्मण तामाङ खेल क्षेत्रमै लागेर आफ्नो भविष्य र देशको नाम विश्वसामु चिनाउने लक्ष्यका साथ लागि परेका छन् ।
१३ औं साग गेममा सितोरियो करातेतर्फबाट स्वर्णपदक ल्याउन सफल तामाङ राज्यले राम्रो सेवा सुविधा र प्रशिक्षणको राम्रो व्यवस्थापन गरिदिएको खण्डमा आफू खेल क्षेत्रमै निरन्तर लाग्ने र कराते खेलको देश नेपाल भनेर विश्व सामु चिनाउने आफ्नो लक्ष्य रहेको बताउँछन् ।
आफ्नो परिवार खेलकुद पृष्ठ भूमि भएको र सानै उमेरदेखि आफूले खेलकुदप्रति रुचि देखाएका कारण आमा बुबाले मलाई गौरीघाटस्थित हिमालय डोजोमा प्रशिक्षणका लागि भर्ना गरिदिएको स्मरण गर्छन् ।
खेलकुदलाई माया गर्ने आमा—बुबाले मलाई र दाई राम तामाङलाई सानै उमेरदेखि खेलकुदमा लगाएको र दाई पनि करातेका राष्ट्रिय खेलाडी भए पनि आफ्नो भविष्य नेदेखेका कारण बाध्य भएर रोजगारीको सिलसिलामा विदेशिएको स्मरण लक्ष्मण गर्छन् । आफूलाई पनि राज्यले राम्रो सेवा सुविधा र प्रशिक्षण गर्ने व्यवस्थापन राज्यले गरिदिएको खण्डमा नेपालमै बसी कराते खेल विकास र देशको नाम विश्व सामु चिनाउन मिहनेतका साथ लाग्ने लक्ष्मण बताउँछन् । तर, राज्यले भन्ने बेलामा खेलाडीलाई राष्ट्रको गहना भन्ने तर गहना जस्तै चाडवाड र अन्य बेलामा प्रयोग गर्ने गहनाको जस्तै व्यवहार गर्ने हो भने आफू पनि बाध्य भएर आफ्नो भविष्यको लागि विदेशिनुपर्ने अवस्था आउन सक्ने लक्ष्मण बताउँछन् । 
खेलकुद क्षेत्रमै लागेर आफ्नो देशको नाम विश्व सामु चिनाउने लक्ष्यका साथ अगाडि बढिरहेका खेलाडीहरुलाई राज्यले संरक्षण गर्न नसकेका कारण आफ्नो र परिवारको भविष्यको लािग धेरै सक्षम राम्रा खेलाडीहरु विदेशिन परेको गुनासो पोख्छन् लक्ष्मण । अब आउने नयाँ पीढिका खेलाडीहरुलाई खेलकुद क्षेत्रमा लाग्दा आफ्नो भविष्य र अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो देशकोे नाम फैलाउन सक्ने वातावरण राज्यले बनाउनुपर्ने अवस्था आइसकेको छ । अन्यथा राज्यले यसतर्फ चासो नदेखाउने हो भने नेपालले अन्तर्राष्ट्रियस्तरको कुनै पनि खेलमा पदकको आश नगरे हुन्छ । किनकी अन्य देशले खेलकुद क्षेत्र र खेलाडीलाई हेर्ने दृष्टिकोण धेरै माथि रहेको छ । कुनै पनि प्रतियोगिता हुनुभन्दा अगाडि खेलाडी उत्पादन गरी पदक हासिल गर्नको लागि खेलाडीलाई नियमित प्रशिक्षण, सेवा, सुविधालगायत भविष्यको ग्यारेन्टी गरी खेलाडी उत्पादनमा विश्वको अधिकांश मुलुकले धेरै नै लगानी गरिरहेका छन् । तर, नेपालमा खेलाडीको मनोबल बढाउने भन्दा पनि गिराउने परम्परा बसिसकेको छ । यसको उदाहरण भनेको विगतमा साग गेममा स्वर्ण पदक ल्याउने खेलाडीलाई घडेरीदेखि मनग्य आर्थिक सहयोग गर्ने गरिन्थ्यो । तर, गएको १३ औं साग गेममा नेपाली खेलाडीहरुले सबैभन्दा बढी पदक ल्याई नेपाललाई ऐतिहासिक दोस्रो स्थानमा ल्याउँदा पनि त्यस्ता खेलाडीहरुलाई मासिक भत्तावापत पाँच हजार रुपैयाँ मात्र दिने गरिएको छ । त्यो पाँच हजार रुपैयाँले घरभाडा, प्रशिक्षणका लागि आवश्यक सामाग्री खरिद, दैनिक डाइटको व्यवस्थालगायत अन्य आवश्यक पूर्वाधारका लागि खेलाडीलाई पुग्छ ? खेलाडीको मनोबल बढाउने काम गर्छ ? खेल क्षेत्र विकासको लागि भनेर जिम्मेवारी दिएको संस्थाका पदाधिकारीहरुले यसतर्फ गम्भीर भएर ध्यान दिनुपर्ने हो कि होइन ? लक्ष्मण खोजतलाससँग गुनासो पोख्छन् ।
रोजगारीको सिलसिलामा सशक्त प्रहरी बल नेपालमा खेलाडीको रुपमा हाल प्रशिक्षण लिइरहेका लक्ष्मणलाई राष्ट्रले खेलाडीलाई जति संरक्षण गर्नुपर्ने हो त्यो नगरेको कारण आफू कहिलेकाहिँ खेलकुद विकासको लागि गठित संस्थाका पदाधिकारीहरुले खेल क्षेत्र विकासका लागि गरेको गतिविधि देख्दा आफूलाई हिनताबोध हुने बताउँछन् ।
१३ औं साग गेममा आफूले स्वर्णपदक ल्याई राष्ट्रको झण्डा फराएको क्षणमा आफूले अन्य पेशा भन्दा खेलकुद नै अंगोलेकोमा गर्व लागेको थियो । त्यतिबेला सबैले चारैतर्फबाट बधाईको ओइरो आउनुका साथै राज्य र आफू खेलाडीको रुपमा कार्यरत संस्था एपीएफको तर्फबाट आर्थिक सहयोग मिल्दा आफूलाई गर्व र आर्थिक हिसावले ठिकै हुने सोचेको थिएँ । तर, त्यस्तो होइन रहेछ । आफूले राष्ट्रका लागि पदक ल्याएको क्षण इज्जत, मान सम्मान मिल्ने तर पछि सामान्य नागरिकको हैसियतमा दैनिक गुजारा गर्नसमेत धौधौ पर्ने अवस्था आएको देख्दा खेलकुदमा लागेर आफ्नो र परिवारको भविष्य नबन्ने भएकै कारण धेरै राम्रा खेलाडीहरु विदेशिएका रहेछन् भन्ने अहिले आएर आफूलाई लागेको लक्ष्मण बताउँछन् ।
वास्तवमा अन्य खेल भन्दा नेपाललाई विश्व सामु करातेको देश भनेर चिनाउने खेल भनेको कराते नै भएको ठोकुवा गर्छन् । अन्य खेललाई जस्तै करातेलाई पनि महत्व दिई खेलाडीको भविष्य सुनिश्चित, प्रशिक्षण गर्ने वातावरण, अनुभवका लागि विदेशमा आयोजित विभिन्न प्रतियोगिताहरुमा सहभागिता गराउने र खेलाडीको मनोबल बढाउने कार्य गर्ने हो भने कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले करातेको तर्फबाट पदक ल्याउनेमा ठोकुवा गर्छन् लक्ष्मण । यस्तो वातावरण राज्यले गराई दिने हो भने नेपालमै रहेर कराते खेलबाट नेपाललाई विश्व सामु चिनाउने र एसियन, ओलम्पिक गेममा पदक ल्याउने लक्ष्यका साथ अगाडि बढिरहेको लक्ष्मण बताउँछन् ।
१३ औं साग गेममा नेपाललाई ऐतिहासिक स्वर्णपदक दिलाउने खेलाडीहरु राज्यले जति सेवा सुविधा र भविष्यको लागि कुनै ठोस कार्यक्रमहरु नल्याएका कारण रोजगारीका लागि विदेशिसकेको गुनासो खोजतलाससँग लक्ष्मण पोख्छन् । यस्तो अवस्थामा कसरी पदकको आस गर्न सकिन्छ, लक्ष्मणको गुनासो छ ।
राष्ट्रको लागि भनेर दिन रात नभनी आफ्नै पहलमा खेल्दै नेपालको लागि पदक ल्याउने खेलाडीलाई राष्ट्रले हेर्ने दृष्टिकोण फरक रहेको छ । १३ औं साग गेममा स्वर्ण पदक ल्याउने खेलाडीलाई राष्ट्रले ‘लिए लि, नलिए घिच’ भन्ने उखान जस्तै व्यवहार गरेको छ । स्वर्णधारी खेलाडीलाई राष्ट्रले जम्मा पाँच हजार मासिक भन्दा स्वरुप दिने गरेको छ, त्यो पनि समयमा नपाएको गुनासो लक्ष्मण पोख्छन् ।