काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिबद्धता रहेको स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले अन्समिल मिसन लिवियामा जाने नयाँ श्री भैरवीदल गुल्म सातौँ डफ्फाका सकलदर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई बिहीबार काभ्रेको पाँचखालमा सम्बोधन गर्दै सो धारणा व्यक्त गरे । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् ।
‘आन्तरिक रूपमा पनि नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिबद्धता रहेको छ भन्ने कुरा म ढुक्कले भन्न चाहन्छु’, राष्ट्रपति पौडेलले भन्नुभयो ।
नेपाली सेनाले लामो समयदेखि संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यमा भाग लिँदै अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको छविलाई उच्च राख्दै आएको पनि उनले बताए ।
राष्ट्रपति पौडेलले नेपाली सेना र सुरक्षा निकायलाई विश्वले ठूलो भरोसा गरेको छ भन्ने कुरा शान्ति सेनामा सबैभन्दा ठूलो हाम्रो उपस्थितिले स्पष्ट पारेको बताए ।
नेपाली सेनाको उच्च अनुशासन, वफादारिता, कार्य दक्षता तथा शान्ति कार्यप्रतिको प्रतिबद्धताको कदरस्वरुप संयुक्त राष्ट्र संघले नेपाली सेनालाई विभिन्न मिसनमा सहभागी गराउन थालेको ६७ वर्ष पुरा भएको स्मरण गर्दै उनले हालसम्म नेपाली सेनाका करिब १ लाख ५८ हजार बढी शान्ति सैनिकले ४४ वटा संयुक्त राष्ट्रसंघका मिसनमा आफ्नो कार्य दक्षता प्रदर्शन गरिसक्नु हाम्रा लागि खुसीको विषय भएको बताए ।
हाल विभिन्न ११ मिसनमा करिब ६ हजार बढी शान्ति सैनिक कार्यरत रही नेपाल शान्ति सैनिक योगदान दिने मुलुकहरू मध्ये पहिलो स्थानमा रहेको तथ्यले गौरवान्वित बनाएको उनको भनाइ थियो ।