थाइल्यान्ड– थाइल्यान्डको कृषि विश्वविद्यालय कसेस्टार्ट र नेपालको जनता एग्रो एण्ड फरेष्ट्रीबीच सहकार्य हुने भएको छ ।
जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयबीच जनता एग्रोले नेपालमा गरिरहेको जैविक खेतीमा नवीनतम आधुनिक प्रविधिहरू, उन्नत जातका बिरुवाको हेरचाह गर्ने नव रणनीतिहरू, फसल काट्ने नयाँ नयाँ तरिका, उत्पादन तथा गुणस्तर वृद्धि गर्ने लगायतका क्षेत्रमा सहकार्य भएको हो ।
सहकार्यमा एग्रोका तर्फबाट अध्यक्ष पवन गोल्यानले र विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनल बीच सहकार्य गर्ने सम्बन्धी हस्ताक्षर भएको छ ।
विश्वविद्यालयले नेपालका कृषकहरूलाई आधुनिक कृषि प्रक्रियामा दक्ष बनाउन, कृषि उत्पादनको गुणस्तर र बजार प्रतिस्पर्धामा वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ । यस साझेदारीमा नियमित कार्यशालाहरू, खोज अध्ययनहरू, र तालिम कार्यक्रमहरू समावेश छन् ।
सम्झौताअनुसार विश्वविद्यालयले कृषि खेती संरक्षणका नयाँ तरिकाहरू, माटो सुधारका उपायहरू, प्राकृतिक किरा व्यवस्थापनको लागि समाधानका उपाय र रोकथाम रणनीतिहरू बारे विभिन्न तालिम प्रदान गर्ने छ ।