गुलरिया (बर्दिया) । बर्दिया जिल्लाका गुलरिया र बारबर्दिया नगरवासी जब्दीघाटमा रहेको भत्किएको पुल हेर्दै काठको पुलमा पैसा तिरेर यात्रा गर्न बाध्य भएका छन् । विसं २०७९ मा जब्दीघाटको पक्की पुल बाढीले पूर्ण रूपमा बगाएपछि बारबर्दिया नगरपालिकाले नदीमा डुङ्गा सञ्चालनका लागि ठेक्का लगाएको छ । स्थानीयवासी काठको पुल होस् वा डुङ्गा, पैसा तिरेर नदी तर्न बाध्य छन् ।
नदी तर्नका लागि स्थानीयले एक जनाको १० रुपियाँ, साइकलसहित एक जना २० रुपियाँ, मोटरसाइकलसहित एक जना २५ रुपियाँ, अटोरिक्साको ५० रुपियाँ, गाईभैँसी, भेडाबाख्राको १५ रुपियाँ, किसानलाई आवश्यक पर्ने मल बिउ प्रतिक्विन्टल १० रुपियाँका दरले शुल्क तिर्ने गरेका छन् । बारबर्दिया नगरपालिकाले जब्दीघाट उत्राहीका लागि वार्षिक २१ लाख रुपियाँमा ठेक्का लगाएको हो ।
बर्सातको समयमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने भए पनि हिउँदयाममा नदीको बहाव घटेपछि ठेकेदारले आफ्नै लगानीमा काठको पुल सञ्चालन गर्ने गरेका छन् । काठको पुलबाट नदी तर्दासमेत डुङ्गासरह नै शुल्क असुल गर्ने गरेको छ । पुलबाट अटोरिक्सा, मोटरसाइकल, साइकललगायतका साना सवारीसाधन आवतजावत गर्न सहज भए पनि चर्को शुल्क तिरेर नदी तर्ने गरेको बारबर्दिया नगरपालिका–११ की रामकृष्णी थारूले बताउनुभयो ।
निर्माण भई हस्तान्तरण नहुँदै विसं २०७४ को बाढीले बबई नदीको जब्दीघाटको पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो । भासिए पनि जोखिम मोलेर साना सवारीसाधनमा यात्रा गरिरहेका थिए तर २०७९ को बाढीले पुललाई पूर्ण रूपमा बगाएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।