काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको उपस्थितिमा युद्धरत युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीमाथि शुक्रबार साँझ गरिएको व्यवहारबाट संसार पक्ष र विपक्षमा बाँडिएको छ। एकथरीका निम्ति उनले कच्चा कूटनीतिमार्फत मुलुकलाई युद्धमा होमेका कारण यो दुर्गति आएको हो भने अर्काथरीले उनको देशप्रेम र नझुक्ने व्यक्तित्वको सर्वथा तारिफ गरेका छन्।
आफ्ना पाहुनाका रूपमा आएका मित्र मुलुकका राष्ट्राध्यक्षमाथि ह्वाइटहाउसको ओभल अफिसमा गरिएको हेपाहा व्यवहारलाई लिएर संसारभरिका न्यायप्रेमी मानिसहरू आश्चर्यमा मात्र परेका छैनन्, ठुला शक्तिराष्ट्रले सानालाई कसरी ङ्याक्न खोज्छन् भन्ने पनि देखिएको छ। प्रेसका अगाडि सार्वजनिक भएको यो घटनाले ठुला मुलुकले साना मुलुकका नेतालाई कसरी आफ्नो हितअनुकूल हिँडाउन खोज्छन् र नसके अपमानित गर्छन् भन्ने पनि पुष्टि भएको छ।
आफ्नो एउटा भूभाग क्रिमियालाई सन् २०१४ मा ठुलो छिमेकी रुसले बलात् आफ्नो भूभागमा मिलाएको घटनाबाट जानकार जेलेन्स्कीले नेटोको सदस्यता लिन चाहेका हुन्। उनीभन्दा अगाडिका नेताहरूले युक्रेनलाई नेटोको सदस्यता प्राप्तिमा लगाउने वाचा गर्ने गरे पनि कहिल्यै कार्यान्वयनमा लगेनन्। जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित भएपछि यस दिशामा अग्रसर भएका हुन्।
अहिले आएर युक्रेनमाथि किन रुसले आक्रमण गरेको रहेछ भन्ने प्रस्ट भएको छ। ‘युरोपको खाद्यान्न भकारी’का रूपमा चिनिने युक्रेनलाई आफ्नो राज्यमा मिलाउन मात्र होइन, यसको विशाल खनिज भण्डारलाई उपयोग गर्ने चाहना रुसमा रहेको हो। त्यही चाहना अहिले युद्ध अन्त्यका निम्ति पहल गर्न तत्पर भनिएका अमेरिकी राष्ट्रपति ट्रम्पको पनि देखिएको छ। ‘लेनदेन’को सम्बन्धमा विश्वास गर्ने ट्रम्पले युक्रेनको खनिजमा आँखा लगाएका थिए। उनले त्यसैका निम्ति निरन्तर दबाब दिइरहेका हुन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीको युद्ध अन्त्य नचाहेका होइनन् तर त्यसका निम्ति फेरि रुसले आफूमाथि आक्रमण नगर्ने सुनिश्चितता पनि खोजेका हुन्। युद्ध अन्त्यको अर्थ युक्रेनका खानीमाथि अमेरिकी आधिपत्य हुने र उनी भने देशभित्र दोषी करार भएर बाँच्नुपर्ने अवस्था रहन्थ्यो। उनले आफू मर्न तयार भएको तर अपमानित हुने सम्झौता गरेर देशलाई घाटामा पार्न नचाहेको स्पष्ट सन्देश दिएका छन्।
ठुला शक्तिराष्ट्रले कसरी साना मुलुकको आत्मसम्मानमा घात गर्न खोज्छन् भन्ने पनि यसबाट देखिएको छ। युद्धरत दुई मुलुकमध्ये रुससँग संवाद गरेर मिल्न अमेरिकाले युक्रेनलाई दबाब दिएका हुन्। युद्ध अन्त्यका निम्ति रुस र युक्रेन दुवैमा समान ढंगको दबाब हुन सक्थ्यो। तर रुसी राष्ट्रपति भ्लामिर पुटिनसँगको विशेष सम्बन्धका कारण दबाब जेलेनस्कीमाथि मात्र बढाइएको छ।
जेलेनस्कीका अगाडि रुसले आक्रमण थालेपछि प्रत्याक्रमणमा जानुको विकल्प थिएन। एकथरी व्यक्तिहरू ठुलो छिमेकीसँग निहुँ खोज्नुहुँदैनथ्यो भन्ने तर्क गर्छन्। ठुलो छिमेकीले सानो मुलुकलाई हेप्ने र उसको सार्वभौमसत्तालाई कम आँक्ने स्थितिका लागि यसरी वातावरण बनाउन खोजिएको छ। त्यतिबेला उनी डटेर अगाडि नबढेका भए युक्रेन विश्व मानचित्रबाट हराइसक्ने थियो। धन्य, उनी लडे र विश्वका न्यायप्रेमी मानिसहरूले ठुला मुलुकको दबदबाबाट साना मुलुकले आफूलाई प्रतिरक्षा गर्न जेलेनस्कीबाट प्रेरणा लिएका छन्।
अहिले आएर अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई किन अपमान गरेका छन् भने तिनका सर्तअनुसार जेलेनस्कीले अगाडि बढ्न मानेका छैनन्। रुससँग जबर्जस्ती सम्झौता गर्ने र आफ्नो खनिज स्रोतबाट हात धुने मात्र काम हुन्थ्यो। त्यसपछि युक्रेनभित्रै आफ्नो मुलुकमाथि घात गरेको आरोप लाग्ने निश्चित थियो।
यी यावत् घटनाक्रमबाट हाम्रो जस्तो मुलुकले विकास निर्माणदेखि अन्तर्राष्ट्रिय सम्बन्ध सम्ममा कसरी ध्यान दिनुपर्छ भन्ने पाठ लिनु उचित हुन्छ। विदेशीले भने भन्दैमा सबै कुरा मान्न सकिँदैन। आफ्नो मुलुकको आवश्यकता पहिचान गर्दै आफ्नै बलबुतामा विकास निर्माणमा लाग्न तत्पर हुनुपर्छ। सबै मुलुकका आफ्ना स्वार्थ हुन्छन्। तिनले दिने सहयोगमा पनि कुनै न कुनै किसिमको सर्त अवश्य हुन्छ। यस्ता सर्त स्वीकार गर्नुअघि पनि विचार गर्नुपर्ने हुन्छ।
जेलेनस्कीले अमेरिकी राष्ट्रपतिका अगाडि आफूलाई निडर रूपमा प्रस्तुत गर्दै आफ्नो दृष्टिकोण राखेका छन्। प्रेसको सामुन्नेमा समेत यस्तो व्यवहार गर्न सक्ने संसारका ठुला देशका नेताहरूले भित्री रूपमा दबाब दिँदैनन् भन्ने विश्वास गर्न सकिँदैन। त्यस्तो बेलामा आफूलाई प्रस्ट रूपमा राख्दै देशहितलाई प्राथमिकतामा राख्न सधैं सजग हुनुपर्ने देखिन्छ। आजको नागरिक दैनिकबाट