मुस्ताङका विद्यालय २ महिनापछि खुले

10.7k Shares

मुस्ताङ – मुस्ताङका सामुदायिक विद्यालयमा पठनपाठन शुरुआत भएको छ । दुई महिना हिउँदे बिदापछि मुस्ताङका बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आएका हुन् । हिउँदयामको पुस र माघ महिनामा हिमपात र अत्यधिक चिसोले बालबालिकाको शिक्षण सिकाइ क्रियाकलाप प्रभावित हुने तल्लो मुस्ताङका सामुदायिक विद्यालयले विद्यार्थीलाई लामो हिउँदे बिदा दिने गर्दछन् ।

हिउँदयाममा स्थानीय तहका विद्यालयलाई दुई महिना लामो हिउँदे जाडो बिदा दिने गरिन्छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका सामुदायिक, गुम्बा, आमची र संस्थागत विद्यालय भने हिउँदयाममा साविक ठाउँ छाडेर बेँसीमा झारिने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामेश्वर लामिछानेले जानकारी दिनुभयो ।

मुस्ताङमा ३५ वटा सामुदायिक विद्यालय छन् । गुम्बा, आमची र संस्थागत गरी १२ वटा विद्यालय सञ्चालनमा छन् । मुस्ताङका ४७ विद्यालयमध्ये घरपझाङ, थासाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका २४ वटा विद्यालयले बर्सेनि हिउँदे बिदा दिने गरेका छन् ।

यसरी दुई महिना लामो हिउँदे जाडो बिदा दिएका विद्यालयले फागुनको पहिलो हप्तादेखि क्रमशः शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिने गर्दछन् । मुस्ताङमा दुई महिना लामो हिउँदे बिदाका लागि ४५ दिन वार्षिक सरकारी बिदा र १५ दिन सट्टा बिदा गरी ६० दिन विद्यालयको शैक्षिक पठनपाठन स्थगित गरिने जनाइएको छ ।

मुस्ताङका तीन स्थानीय तहका सामुदायिक विद्यालयहरूमा फागुनदेखि क्रमशः शैक्षिक पठनपाठन सञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय खुले पनि जिल्लाबाहिर रहेका विद्यार्थी विद्यालय फर्किन थालेका छन् । घरपझोङ, थासाङ र वारागुङ मुक्तिक्षेत्रका धेरैजसाे सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूमा शैक्षिक पठनपाठन शुरू भएको एकाइ प्रमुख लामिछानेको भनाइ छ ।

सम्बन्धित समाचार