काठमाडौँ - भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी–किट) विश्वविद्यालयको अमानवीय व्यवहारले नेपाली विद्यार्थी अझै त्रासमै भौंतारिरहेका छन्। किट विश्वविद्यालयले पटकपटक फिर्ता हुन गरेको आह्वानलाई विश्वास गर्न नसकेर उनीहरू भौंतारिरहेका हुन्। नेपालमा आएर पनि आफूमाथिको अन्यायबारे बोल्दा मास्क र चस्मा लगाउनुपरेको दृश्यले उनीहरू कतिसम्म त्रसित छन् भन्ने स्पष्ट हुन्थ्यो।
शुक्रबार उनीहरूले गरेको पत्रकार सम्मेलनबाट त्यस्तो दृश्यबाट सवाल उठेको छ– यस्तो अवस्थामा नेपाली विद्यार्थी भारतमा कसरी सुरक्षाको अनुभूति गर्न सक्छन् त? विश्वविद्यालयबारे बोले आगामी दिनमा आफूमाथि थप प्रहार हुने डरले विद्यार्थीहरू मानसिक रूपमा विचलित रहेको उनीहरूको अभिव्यक्तिबाट प्रस्ट झल्किन्थ्यो। पत्रकार सम्मेलनमा किशोरावस्थाका ती विद्यार्थीहरूले आफ्ना पीडालाई नेपाल र भारत सरकारले मिलेर सम्बोधन गरिदिनुपर्नेमा जोड थिए।
बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विषयलाई लिएर न्यायका लागि आवाज उठाएकै निहुँमा नेपाली विद्यार्थीलाई किट विश्वविद्यालयका शिक्षक, कर्मचारी तथा सुरक्षा गार्डहरू मिलेर खोजीखोजी कुट्ने, मानसिक तनाव दिनेजस्ता मानवअधिकार हनन हुने किसिमले कार्य गरेको र अहिलेसम्म सुरक्षाको प्रत्यभूति नगराएकै कारण आफूहरू फर्कन नसकेको पीडित विद्यार्थीले बताए।
नेपाल फर्किएका विद्यार्थीले पत्रकार सम्मेलनमा आफूहरूलाई विश्वविद्यालयभित्र मात्र नभएर बाहिर समेत असुरक्षाको महसुस भएका बताए। त्यसकारण विश्वविद्यालयले आग्रह गर्नासाथ फर्किहाल्ने वातावरण नभएको गुनासो उनीहरूले गरे।
‘एकातिर सिनियर दिदी प्रकृति लम्सालले विश्वविद्यालयको लापरबाही र भारतीय विद्यार्थी अद्विक श्रीवास्तवले दिएको शारीरिक र मानसिक तनाव खेप्न नसकी आत्महत्या गर्नुपरेको पिडा थियो अर्कातिर उहाँको न्यायका लागि आवाज उठाउँदा हामीलाई शिक्षक, जिम ट्रेनर र सुरक्षा गार्डले लाठी, बुटलगायतले कुट्ने काम भएको छ,’ पीडित एक विद्यार्थीले भने, ‘हाम्रो के गल्ती थियो? विश्वविद्यालयमा हामीलाई जसले पढाउनुहुन्छ, उहाँहरू त हाम्रा गुरु हुनुहुन्छ तर उहाँहरूले नै हामीलाई देशद्रोहीलाई जस्तै कोठाकोठामा छिरेर कुटेर शारीरिक र मानसिक यातना दिनुभयो, हामी जबर्जस्ती विश्वविद्यालयबाट निकालियौं।’
श्रीवास्तवको यातनाका कारण प्रकृतिले आत्महत्या गरेको ओडिसा प्रहरीको छानबिनमा पनि देखिएको विद्यार्थीहरूले बताए। उनीहरूका अनुसार प्रकृति तीन वर्षयता भारतीय विद्यार्थी श्रीवास्तवसँग प्रेम सम्बन्धमा थिइन्। प्रेमी श्रीवास्तवबाट प्रकृतिले पटकपटक मानसिक र शारीरीक यातना खेप्दै आएकी थिइन्।
प्रेम सम्बन्धमा रहेका बखत प्रेमी श्रीवास्तवले उनको अश्लील भिडियो बनाएको र पटकपटक ब्ल्याकमेल गर्दै आएको सोही विश्वविद्यालयका अर्का विद्यार्थीले पत्रकार सम्मेलनमा बताए। उनका अनुसार प्रकृतिले आत्महत्या गर्नुअघि विष सेवन पनि गरेकी रहिछन्। श्रीवास्तव राजनीतिकर्मीका छोरा भएकोले राजनीतिक प्रभाव र संरक्षणका प्रकृतिले न्याय पाउनेमा आशंका रहेको विद्यार्थीहरूले बताए। प्रकृतिलाई आत्महत्याका लागि बाध्य पार्ने आरोपित श्रीवास्तव भारतको राजनीतिक दल भाजपाका नेता मनोज श्रीवास्तवका छोरा रहेको खुलेको छ।
पीडित विद्यार्थी कोही नेपाल, कोही पटना, कोही भुवनेवश्वरमै रहेको अवस्थामा परराष्ट्रमन्त्री आरजु देउवाले सबै कुरा मिलिसक्यो भन्नु गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति रहेको भनेर पनि विद्यार्थीहरूले असन्तुष्टि प्रकट गरे। ‘हामी कुटाइ खाएर विश्वविद्यालयबाट निकालिएका विद्यार्थी कोही पनि विश्वविद्यालय फर्केका छैनौं। हामी अझै मानसिक र शारीरिक यातना खेपिरहेको अवस्थामा परराष्ट्रमन्त्रीज्यूले सबै कुरा मिल्यो भन्नु उचित होइन। हाम्रो भावनासँग खेलबाड गर्नु गलत हो। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सामाजिक सञ्जाल एक्समा लेख्नुभएकै कारण हाम्रो समस्या केही हदसम्म सुनवाइ भयो तर समाधान भइसकेको छैन,’ जिम ट्रेनरबाट कुटिएका अर्का पीडित विद्यार्थीले नागरिकसँग भने, ‘किट विश्वविद्यालयमा हाम्रो समय र रकम खर्च भइसकेको छ। हामीलाई शैक्षिक योग्यताको प्रमाणपत्र चाहिन्छ तर यसो भन्दैमा हामी सुरक्षाको प्रत्याभूतिबेगर भारत फर्कन सक्दैनौं।’
नेपाल र भारतका सरकारले मिलेर सरकारी स्तरमा सम्झौता गरे र दुवै देशले हाम्रो सुरक्षाको लिखित प्रत्यभूति दिए मात्र आफूहरू विश्वविद्यालय फर्कन सक्ने उनको भनाइ थियो। उनले दुवै देशका सरकारसँग त्यस्तो वातावरण मिलाइदिन मागसमेत गरे। आजको नागरिक दैनिकबाट