काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले महाशिवरात्री भव्य रुपमा सम्पन्न गर्नेगरी तयारी तीव्र र व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ ।
महाशिवरात्रीको तयारी अवस्थाबारे जानकारी लिन शुक्रबार बिहान पशुपतिनाथ पुग्नुभएका मन्त्री पाण्डेले महाशिवरात्रीलाई भव्य बनाउन तयारी व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभएको हो ।
उहाँले विगतका वर्षहरुमा भन्दा अझ बढी व्यवस्थित बनाई भक्तजनलाई सहज रुपमा दर्शन गर्न मिल्नेगरी तयारी गर्न आग्रह गर्नुभयो । उहाँले महाशिवरात्री नेपालीहरुको महान् पर्व भएको र नेपाललाई चिनाउने पशुपतिनाथ भएकाले पशुपतिनाथको महिमालाई शिखरमा पुर्याउने दिन महाशिवरात्री भएको उल्लेख गर्नुभयो । महाशिवरात्रीलाई जति व्यवस्थित गर्नसक्यो त्यति नै महत्त्व बढ्ने उहाँको भनाइ छ ।