काठमाडौं- गतेदेखि प्रदर्शनमा आउन तयार चलचित्र ‘लाज शरणम्’ माथि रोक लगाएकोमा आलोचना भएको छ ।
महाशिवारत्रिदेखि प्रदर्शनमा आउने चलचित्रको प्रचार प्रसार नगर्न उच्च अदालत, पाटनले मंगलबार अन्तरिम आदेश जारी गरेपछि नेपाली सिनेक्षेत्र आन्दोलित भएको छ ।
पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमद्वारा दायर गरिएको निषेधाज्ञा रिटमा मंगलबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
यस आदेशसँगै सेन्सर नहुञ्जेल यो चलचित्रको सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रसार प्रसार रोकिएको छ । अदालतले केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिँदासम्म फिल्मको प्रचार-प्रसार गर्न र प्रचार सामग्री सार्वजनिक गर्न रोक लगाएको छ ।