घरबासले जोगाउँदै मगर संस्कृति

10.2k Shares
लमजुङ । हरियो सालको पातको टपरी । त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी । अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने । मुखले चाख्नुअघि आँखैले लोभ्याउने [होमस्टे] घरबासको परिकार । लमजुङको बेँसीसहर नगरपालिका–२ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जो कोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन् । 
 
“पहुँनालाई मीठो गरी सत्कारले खुवाउनुपर्छ”, उहाँले अनुभव सुनाउँदै भन्नुभयो, “बोली वचन मीठो भए, खाना झनै स्वादिलो हुन्छ ।” सावित्रीले घरबासमा व्यापार मात्रै गर्नुहुन्न । त्यससँगै आफ्नो समुदायको कला, संस्कृति र संस्कारको समेत प्रत्यक्ष-अप्रत्यक्ष रूपमा पहिचान झल्काउनुहुन्छ । 
 
सावित्रीले हरेक परिकारको फाइदा र स्वादका बारेमा प्रष्ट पार्नुहुन्छ । नरुवाल मगर घरबासमा केही साताअघिमात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पुग्नुभएको थियो । पुग्नुको प्रसङ्ग बेग्लै थियो । तर, त्यहाँ मन्त्री गुरुङलाई गरिएको सत्कार र आत्मीयता अन्य अतिथिलाई जस्तै समान थियो । 
 
उही सालको पातका टपरीमा सेल, अचारलगायत परिकार खुवाएर मन्त्रीलाई स्वागत गरिएको थियो । सावित्रीले भन्नुभयो, “घरबास जति मौलिक हुनसक्यो उति राम्रो हो ।” सञ्चारमन्त्री गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा उद्घाटन गरिएको नरुवाल मगर घरबास लमजुङ जिल्लाकै मगर समुदायले सञ्चालन गरेको पहिलो घरबास हो । 
 
लमजुङ बहुजाति, भाषाभाषी, संस्कृति र संस्कारले भरिएको जिल्ला हो । यहाँका थुप्रै समुदायले आआफ्नो कला र सभ्यता प्रदर्शन गरे पनि पर्यटन प्रवर्द्धनको मूल आधार बन्नसक्ने भन्दै मन्त्री गुरुङले मुख्यमन्त्री हुँदा घरबास सञ्चालन र प्रवर्द्धनमा जोड दिनुभएको थियो । मन्त्री गुरुङका अनुसार गण्डकी प्रदेशमा तीन सय १० र लमजुङ जिल्लाभर १२ वटा घरबास सञ्चालनमा छन् । 
सम्बन्धित समाचार