काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले बिजुलीका तारहरू भूमिगत गर्नका लागि 'होरिजोन्टल ड्रिलिङ' गर्ने क्रममा हिजाे बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाण्डाैमा वितरण गरिने थोक प्रणालीको पाइपकाे मर्मतकाे काम २० घण्टामा सम्पन्न भएकाे काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिनुभयो । अहिले पानी परीक्षणकाे काम भइरहेकाे र परीक्षण सम्पन्न हुनासाथ वितरण प्रक्रिया शुरू गर्ने उहाँले बताउनुभयाे ।
विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानीमन्त्री यादवले बताउँदै आउनुभएको छ ।
बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न हुँदा विशेष अदालतसहितका सरकारी कार्यालयमा पानी पसेकाे थियो ।