नवलपुर । नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती –१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ।
महासंघले महोत्सवमा संस्थागत रूपमा कुनै सहभागिता नरहेको स्पष्ट गर्दै, आदिवासी जनजाति समुदायको कला, संस्कृति, भाषा र भेषभूषालाई महोत्सवमा वेवास्ता गरिएको आरोप लगाएको छ।
महासंघका अध्यक्ष रामकुमार श्रेष्ठसहित विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा महोत्सव आयोजकहरूले औपचारिकताका लागि मात्र समन्वय गरेको तर आदिवासी जनजाति समुदायको पहिचान झल्काउने तत्वलाई उचित स्थान नदिएको गुनासो गरिएको छ।
महोत्सव आयोजकले आदिवासी जनजाति समुदायको कला, संस्कृति र भेषभूषालाई महोत्सवमा दुरुपयोग गरेको, महासंघसँग अघिल्लो सम्झौताअनुसार व्यवहार नगरिएको विभिन्न जातीय संघ संस्थाहरूलाई झुठा कुरा गरी महोत्सवमा सहभागी गराउन खोजिएको आरोप लगाएको छ ।