सिड्नी । अस्ट्रेलियामा आधारित वैज्ञानिकहरूले बिहीबार इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) मार्फत विश्वको पहिलो कङ्गारु भ्रूण उत्पादन गरेको बताएका छन् । यसलाई उनीहरूले खतरामा परेका मार्सुपियलहरू बचाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा प्रशंसा गरेका छन् ।
क्विन्सल्याण्ड विश्वविद्यालयको नेतृत्वमा रहेको टोलीले भविष्यमा दुर्लभ मार्सुपियलहरूका लागि आइभिएफ प्रयोग गर्ने लक्ष्यका साथ यो प्रविधि पूर्वी खैरो कङ्गारुहरूमा प्रयोग गरेको बतायो । यिनीहरूको सङ्ख्या लाखौँ छ ।
“अस्ट्रेलिया विश्वकै सबैभन्दा विविध मार्सुपियल जीवजन्तुहरूको घर हो तर यहाँ स्तनपायी विलुप्त हुने दर पनि सबैभन्दा बढी छ”, प्रमुख अनुसन्धानकर्ता आन्द्रेस गाम्बिनीले विज्ञप्तिमा भन्नुभयो, “हाम्रो अन्तिम लक्ष्य कोआला, तास्मानियन डेभिल, उत्तरी रौँ भएको नाकवाला वोम्ब्याट र लिडबिटर पोसम जस्ता लोपोन्मुख मार्सुपियल प्रजातिहरूको संरक्षणमा सहयोग गर्नु हो ।”
“पूर्वी खैरो कङ्गारुहरूको सङ्ख्या धेरै भएकाले हामीले घरेलु जनावर र मानिसहरूमा पहिले नै प्रयोग गरिएका भ्रूण प्रविधिहरूलाई अनुकूल बनाउने मोडेलका रूपमा प्रयोग गर्न तिनका अण्डा र शुक्राणु सङ्कलन गर्यौँ”, गाम्बिनीले भन्नुभयो, “हामी अहिले मार्सुपियल अण्डा र शुक्राणु सङ्कलन, संवर्धन र संरक्षण गर्ने प्रविधिहरू परिष्कृत गर्दैछौँ ।”
वैज्ञानिकहरूले एकल शुक्राणुलाई सिधै परिपक्व अण्डामा प्रवेश गराउने प्रविधिद्वारा भ्रूणहरू उत्पादन गरे ।उचित सहकार्य, कोष र प्राविधिक प्रगतिका साथ एक दशकभित्र आइभिएफ–सहायता प्राप्त मार्सुपियल जन्म सम्भव हुनसक्ने अनुसन्धानकर्ताले बताएका छन् ।