ढोरपाटन– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गले बागलुङका दुर्गम बस्तीलाई छिचोल्दै पूर्वी रुकुम जोडिएको छ ।
पाँचथरको चियोभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म एक हजार आठ सय ७९ किलोमिटरमा फैलिएको लोकमार्गअन्तर्गत बागलुङमा एक सय ३५ किमी पर्दछ ।
विसं २०६४ देखि सुरु भएको आयोजनाको बागलुङ खण्डमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । लोकमार्गको सदरमुकाम खण्डमा विभिन्न संस्थाहरूको पहलमा साढे दुई दशक अगाडि ट्रयाक खुलेको थियो । पश्चिम बागलुङखण्डमा २०६४÷६५ तिर मात्रै ट्रयाक खोलिएको थियो ।
आयोजना सुरु भएको १७ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा लोकमार्ग छेउछाउका बस्तीका बासिन्दा समस्यामा छन् । करिब ९० प्रतिशत काम सकिएकाले बाँकी यथाशीघ्र सम्पन्न हुने मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतले जनाएको छ ।