सिद्धबाबा र नागढुङ्गा सुरुङमार्गमा कहिलेदेखि चल्छन् गाडी ?

9.5k Shares

पाल्पा - सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबामा बनिरहेको सुरुङमार्ग अघिल्लो हप्ता शुक्रवार छिचोलिएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको दुई लेनको मुख्य सुरुङमार्गको लम्बाई एक किलोमिटरभन्दा केही बढी (एक हजार एकसय २६ मिटर) र चौडाई साढे १० मिटर रहेको छ । सुरुङमार्गमा कुनै समस्या आइपरे आपतकालीन निकासका लागि तीन वटा बाइपास सुरुङ राखिएको छ । तीनवटै बाइपास सुरुङ यसअघि नै छिचोलिएका छन् ।

मुख्य सुरुङ छिचोल्ने काम सकिए पनि अरु धेरै काम बाँकी छ । यो ठेक्काको म्याद २०८३ सालको चैत ८ गतेसम्म रहेको आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो । ‘अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति झन्डै ४० दशमलव ०८ प्रतिशत रहेको छ,’ उहाँले भन्नुभयो, ‘कुनै समस्या आएन भने अर्को वर्षसम्म गाडी चलाउन सकिन्छ ।’

उहाँका अनुसार एक सय ५० जनाभन्दा धेरै श्रमिक र प्राविधिकले रातदिन काम गरिरहेका छन् । अब सुरुङमा विद्युत, सडक कालोपत्र, सञ्चार, भेन्टिलेसन, नाली निर्माण, बत्ती जडान लगायतका काम बाँकी छ । बुटवलको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान क्षेत्रसम्म सुरुङमार्ग बनिरहेको हो ।

आयोजनाका प्रमुख अधिकारीले भन्नुभयो, ‘सडकको भौगोलिक अवस्था र पहिरोको जोखिमका कारण सडकबाट यात्रा गर्दा बढी समय लाग्ने गरेको छ, सुरुङमार्गबाट यात्रा गर्दा डर हुँदैन र समय पनि बढी लाग्दैन ।’ सुरुङमार्गबाट सबै खाले गाडी चलाउन मिल्ने उहाँको भनाइ छ ।

सम्बन्धित समाचार