काठमाण्डाै – न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टाइग्रर ग्रुप अफ पोखरा 'टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिप' को महिलातर्फ क्वालिफायरमा पुगेको छ ।
पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको खेलमा टाइग्रर ग्रुपले न्यु डायमन्डलाई ३–० को सोझो सेटमा हरायो । टाइगर ग्रुपले पहिलो सेट २७–२५, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२१ ले जित्यो । अब टाइगर ग्रुपले पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरी बलको एपीएफसँग खेल्नेछ ।
यस्तै आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबको महिला टोली टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको इलिमिनेटरमा पुगेको छ । पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले जित्यो । अब पुलिसले एलिमिनेटरमा न्यु डायमन्डसँग खेल्नेछ ।
प्रतियोगिताको पुरुषतर्फको खेलमा अहिले गण्डकी प्रदेश र एपीएफ खेलिरहेका छन् । पुरुषतर्फको अर्काे खेलमा पुलिस र आर्मी खेल्दैछन् ।