काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालय र सरकारी कर्मचारीको लागि साइबर सुरक्षा ‘एड्भाइजरी’ जारी गरेको छ । केन्द्रले यही माघको ८ गते सरकारी सूचना प्रविधि प्रणालीका प्रयोगकर्ताको लागि भन्दै साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो । एजभाइजरीमा सरकारी वेबसाइटको नियमित अपडेटदेखि पासवर्ड परिवर्तन र एन्टीभाइरस अपडेटसम्मका विषय समावेश छन् ।
सरकारी कार्यालयको वेबसाइट, एप्लिकेशन, सर्भर, स्टोरेज तथा नेटवर्क सुरक्षाबारे २१ वटा एजभाइजरी छन् । जसमा वेबसाइट नियमित अपडेट गर्ने, समस्या देखिएमा तुरुन्तै समाधान गर्ने, आफ्नो निकायको डाटाको नियमित ब्याकअप र अर्काइभ गर्नुका साथै बिजनेश कम्युनिटी प्लान लागू गर्ने, गुणस्तरको लाइसेन्स भएका हार्डवेयर र सफ्टवेयरहरु मात्रै प्रयोग गर्ने, एन्टिभाइरस, अपरेटिङ सिस्टम, सेक्युरिटी डिभाइस लगायतलाई नियमित स्क्यान र अपडेट गर्ने उल्लेख छ ।
यस्तै पासवर्ड राख्दा सहजै अनुमान गर्न नसकिने खालका सुरक्षित पासवर्ड राख्ने र तीन÷तीन महिनामा परिवर्तन गर्ने, घरपरिवार आफन्त, साथीभाइ आदीको नाम, जन्म मिति, फोन नम्बर, लगायत सजिलै पत्ता लगाउन सकिने पासवर्ड नराख्ने, वर्षको एकपटक सूचना प्रविधि प्रणालीको अडिट गराउने, कार्यालयका इमेल लगायतका सूचना प्रणालीमा दोहोरो प्रमाणीकरण राख्ने, अनावश्यक युजर अकाउन्टहरु निष्कृष्य गर्ने लगायतका विषय पनि एडभाइजरीमा छन् ।