नेपालगन्ज । भारतबाट नेपालगन्ज हुँदै भित्रिने चिनीको आयात अत्यधिक बढेको छ । विगतमा चिनीसहित चामल, दाल र सुती कपडाको आयात घटेकोमा अहिले बढ्न थालेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा नेपालगन्ज नाकाबाट यी सबै वस्तुको आयातमा उल्लेख्य वृद्धि भएको हो ।
गत वर्ष सबैभन्दा धेरै घटेको चिनीको आयात समीक्षा महिनामा सोह्र गुणाले वृद्धि भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार गत आव २०८०/८१ को छ महिनामा ८४ लाख ७३ हजार रुपियाँको चिनी आयात भएकोमा चालु आवको सोही अवधिमा सोह्र गुणाले वृद्धि भई १४ करोड १२ लाख ९२ हजार रुपियाँको चिनी आयात भएको छ ।
गत आवको छ महिनामा चिनी आयातबाट ३९ लाख ८९ हजार रुपियाँ राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा छ करोड २३ लाख ७६ हजार रुपियाँ राजस्व सङ्कलन भएको पनि कार्यालयले जनाएको छ ।