हरिराम महर्जन ‘ठेचो’
ज्ञान र ज्ञानी
मानिसको ठूलो कमजारी सिद्वान्त बुझेर पनि व्यवहारिक हुन नसक्नु हो । कुनै पनि कुरा खानु हुँदैन, गर्नु हुँदैन थाहा छ, खानुपर्छ, गर्नुपर्छ पनि थाहा छ तरे थाहा पाएर गरिरहन्छ र अनिवार्य छ भन्ने बुझेर पनि गरिरहेको हुँदैन । यस्तो धेरै मानिसले भोगेका छन् । कहिलेकाहीँ परिवारमा यस्तै कारणले तनाव पनि उत्पन्न हुन्छ । यसको मूल कारण मानिस अव्यवहारिक हुनु हो । मानिसमा ज्ञान नभएको होइन, ज्ञानी बन्न नसक्नु हो । ज्ञान र ज्ञानी के हो ?
ज्ञान र ज्ञानी भनेको शिक्षा र शिक्षित हुनु हो । ज्ञान भनेको शिक्षा, ज्ञानी भनेको शिक्षित हो । ज्ञान भनेको बुझ्नु हो, थाहा पाउनु हो, ज्ञात हुनु हो । एक किसिमले जानकारी पाउनु नै ज्ञान हो । ज्ञान भनेको ज्ञानी बन्ने ढोका हो । ज्ञानी बन्ने स्तरसम्म पु¥याइदिने काम ज्ञानले गर्छ । ज्ञानबिना ज्ञानी बन्न प्रायः असम्भव हुन्छ । ज्ञान श्रु्रतमय ज्ञान, चिन्तममय ज्ञान र प्रज्ञामय ज्ञान गरेर तीन स्वरूपका हुन्छन् । मानिसले सुनेर प्राप्त गर्ने ज्ञान श्रु्रतमाय ज्ञान हो । चिन्तनमय ज्ञान सुनेर, पढेर प्राप्त गरेको ज्ञानलाई नभएर चन्तन, विश्लेषण गरी अझ गहिराईमा बुझ्नु हो । प्रज्ञामय ज्ञान व्यवहारमा आफैले अनुभूति गर्ने ज्ञान हो । साधारणतया मानिस ज्ञान दुई किसिमले प्राप्त गर्दछन््, गुरुमार्फत र आफ्नै अनुभवबाट । जुनसुकै तरीकाबाट प्राप्त गरेपनि ज्ञान हासिल गर्नु जरुरी छ । ज्ञान हासिल गर्नेहरूलाई के भनिन्छ ? भन्ने प्रश्नको सिधा जवाफ हुन्छ, ज्ञानी । यो गलत बुझाई हो । ज्ञान हासिल गर्नु भनेको जानकारी मात्र प्राप्त गर्नु हो । ज्ञानी हुन जानकारी लिएर मात्र पुग्दैन, हासिल गरेको ज्ञानलाई व्यवहारमा लागु गर्नेहरू मात्र ज्ञानी हुन्छन् । सबैले प्राप्त गरेको ज्ञान व्यवहारमा लागु गर्न सक्दैन । त्यसैले ज्ञान प्राप्त गरेका सबै मानिस ज्ञानी हुँदैनन् । यसको अर्थ ज्ञानी भनेको चैतन्य हो । जो ज्ञानी हुन्छ, ऊ चेतनशील हुन्छ । ज्ञानको तह तर्कवितर्क, सवालजवाफ, प्रश्नउत्तर सम्मको विचार मात्र हो । चेतना भनेको कार्यान्वय हो । भागवत् गीतामा कृष्ण भन्नु हुन्छ, ‘सम्पूर्ण इन्द्रियभन्दा श्रेष्ठ मन हो, मनभन्दा श्रेष्ठ बुद्धि हो, बुद्धिभन्दा श्रेष्ठ आत्मा हो, चेतना हो ।’ गौतम बुद्ध भन्नुहुन्छ, ‘तपाई जति पवित्र शब्द बोल्नुस्, जति पढ्नुस् त्यसको कुनै अर्थ हुँदैन्, यदि त्यस अनुरूप तपाईँको व्यवहार छैन भने’ । यसलाई केही उदाहरणबाट अझ प्रष्ट पार्ने प्रयास गरौँ ।
यदि ज्ञान नै सबैथोक हो, चेतनाको कुनै अर्थ छैन भने एउटा डाक्टरले किन चुरोटको बानी त्याग्न सक्दैन ? डाक्टरलाई चुरोटले स्वास्थ्य खराब हुन्छ भन्ने राम्रो ज्ञान छ । यो कुरा थाहा पाएर पनि किन ऊ चुरोट खाईरहन्छ ? शिक्षकलाई फोहोर गर्नुहुन्न, फोहोरले रोग संक्रमण हुन्छ भन्ने कुरा थाहा छ, कलेज पढ्ने विद्यार्थीलाई पनि थाहा छ तर घर अगाडिको सडक किन फोहोर हुन्छ ? हामीलाई झुठो बोल्नुहुन्न, चोरी गर्नुहुन्न, बेईमानी गर्नुहुन्न, ठग्नुहुन्न, ढाँट्नुहुन्न, ईष्र्या, द्वेष त्याग्नुपर्छ, अनुशासित हुनुपर्छ सबै थाहा छ । समाजमा ढाँट, छलकपट, चोरी, डकैती केही पनि हटेको छैन । समाजमा बेईमानी, ईष्र्या, द्वेष उस्तै छ । समाजमा विकृति, विसंगति त बढेको बढै छ । उपत्यकाका काँठ क्षेत्रका बस्तीमा जुनबेला पढेलेखेका व्यक्तिहरू धेरै कम हुन्थे, त्यतिबेला समाजको व्यवस्थापन, सम्पदाहरूको संरक्षण, सरसफाई र सामाजिक सद्भावको अवस्थाकायम थियो, अहिले हरेक घरघरमा बि.ए., एम.ए. तहसम्म पढेका डिग्रीवाला, डाक्टर, इन्जिनियर थुप्रैथुप्रै भएको बेला समाज पहिलेको अवस्थासम्म पनि व्यवस्थित हुनसकेको छैन । समाज पहिलेभन्दा परिस्कृत हुन सकेको छैन । समाजमा विकृति, फोहोरबा साथै अव्यवस्थित एवम् असुरक्षा छ । यस्तो अवस्था किन आयो ? यसको सिधा जवाफ हामी चेतनशील हुन नसक्नु हो । समाजमा ज्ञान प्राप्त गरेका तर ज्ञानी हुन नसकेका व्यक्तिहरूको हावी हुनु नै यसको मूल कारण हो । हामीले यसो भन्दा पहिलेका मानिस अहिलेको दाँजोमा ज्ञानी हो ? नै प्रश्न उठन सक्छ । निश्चिय नै यो कुरा सत्य हो । त्यतिबेला चाहे धर्मको नाउमा होस्, चाहे समाजको नाममा होस्, जति ज्ञान छ उति व्यवहारिक पनि छ । अहिलेका मानिस धेरै ज्ञान हासिल गरेर पनि अव्यवहारिक छन् । यी उदाहरणहरूले ‘पढेर ज्ञानी हुँदैन’ भन्ने बुढापाकाहरूको कुरालाई पुष्टि गर्छ । यदि यो भनाईलाई सही मान्ने हो भने अहिलेका थुप्रैथुप्रै ज्ञानका अवसर पाएका र आफूलाई ज्ञानी, विद्वान भन्न रुचाउनेहरूले पहिलेकोभन्दा आफूलाई सभ्य छु, अनुशासित छु, ज्ञानी छु भन्ने नैतिक आधार गुमाएकै हुन् ? निश्चय नै गुमाएकै हुन् । जबसम्म आफूसँग रहेको ज्ञानलाई व्यवहारमा कार्यान्वयन गरिँदैन, तबसम्म त्यस ज्ञानको कुनै अर्थ छैन ।
एउटा प्रसङ्ग यहाँ उल्लेख गर्नु आवश्यक ठान्दछु । एक जना अत्यन्त शिक्षिक व्यक्ति, जसले धेरै शास्त्र, ग्रन्थहरू पढेका थिए । उनी सबैजसो विषयको प्रारङ्गत थिए । उनको मन स्थिर नहुने, सधैँ व्याकुल भइरहने, विचलित भैरहने हुन्थ्यो । उनले कुनै पनि विषयमा आफ््नो ध्यान केन्द्रित गर्न सकेका थिएनन् । एकदिन ती व्यक्ति एकजना महात्मालाई भेट्न गए र उसले भने ‘महाराज ! म धेरै पढेलेखेको व्यक्ति हुँ । मलाई लगभग सबै विषयको ज्ञान भएपनि कुनै पनि कार्य पूरा गर्न सकिरहेको छैन । मैले कुनै पनि लक्ष्यतिर जान सकिरहेको छैन । कृपया मेरो समस्याको समाधान गर्दिनुस् ।’ महात्माले त्यस व्यक्तिको पूरा कुरा सुनेपछि भने ‘ठिक छ, तिम्रो समस्याको समाधान म गर्छु तर तिमीले यस रातसम्म प्रतिक्षा गर्नुपर्छ । रातमा म तिम्रो समस्याको समाधान गर्नेछु ।’ झमक्क रात परेपछि महात्माले त्यस व्यक्तिलाई एउटा तलाउको किनारमा लिएर गए । चाँदनी रात थियो । महात्माले आकाशको चन्द्रमालाई देखाएर भने ‘हेर ! त्यो एउटा चन्द्रमा जो स्वतन्त्र आकाशमा छ र अर्को यो चन्द्रमा जो तलाउको पानीभित्र छ । यो तलाउलाई आकाशको चन्द्रमाको छायाँलाई वास्तविक चन्द्रमा पाएको भ्रममा छ । त्यस्तै तिम्रो मन पनि यो तलाउ जस्तै छ । तिमी शिक्षा प्राप्त गरेर यो तलाउजस्तै आफैलाई ज्ञानी सम्झेर बसेका छौ । यो तिम्रो भ्रम हो । तलाउभित्र देखिने छायाँ चन्द्रमा आकाशको चन्द्रमा जस्तै स्वतन्त्र कसरी हुन सक्छ ? एउटा सानो ढुङ्गाको धक्काले विचलित हुन्छ । ठिक त्यस्तै तिमीसँगको ज्ञान पनि तलाउको पानी जस्तै अव्यवहारिकताको कारण अस्थिर छ र तिम्रो ज्ञान बेकाम छ । तसर्थ तिमीले आफूसँग भएको ज्ञानलाई व्यवहारमा ल्याउनुपर्छ । ज्ञान र विवेकलाई जीवनमा लागु गर्नुपर्छ । तबमात्र तिमी भ्रमबाट मुक्त हुन सक्छौ र लक्ष्य प्राप्त गर्न सक्षम हुनेछौ ।’ महात्माको कुरा सुनेर त्यस व्यक्तिले आफूसँग भएको शिक्षालाई व्यवहारमा ल्याउने दृढ निश्चय ग¥यो । यस प्रसङ्गले व्यवहारमा लागू नभएको ज्ञानको कुनै अर्थ छैन भन्ने सन्देश दिएको कुरा प्रष्ट छ ।
डाक्टरले बिमारी जाँच गरेन भने डाक्टरी ज्ञानको के काम ? शिक्षकले शिक्षा दिने काम नै गरेन भने, इन्जिनियरले नक्शा कोर्ने नै गरेन भने, किसानले खेती गरेन भने सबै बेकाम हुन्छ । मानिसको ठूलो कमजारी सिद्वान्त बुझेर पनि व्यवहारिक हुन नसक्नु नै हो, समस्या नै हो । कुनै कुरा खानु हुँदैन, गर्नु हुँदैन थाहा छ, खानुपर्छ, गर्नुपर्छ पनि थाहा छ तर मानिस नहुने भन्ने थाहा पाएर पनि गरिरहन्छ र गर्न अनिवार्य छ भन्ने थाहा पाएर पनि गरिरहेको हुँदैन । यस्तो धेरैले भोगेको पाइन्छ । तपाईँले पनि अवश्य भोगेको हुनुपर्छ । परिवारमा कहिलेकाहीँ यस्तै कारणले तनाव पनि ब्यहोरेको हुनुपर्छ । यसको कारण मानिस अव्यवहारिक हुनु हो । हामीमा ज्ञान नभएको होइन, हामी ज्ञानी बन्न नसकेको हो । मानिसले ज्ञान नभएर नगर्नु अज्ञानता हो भने ज्ञान हुँदाहुँदै पनि व्यवहारिक नहुनु मूर्खता हो, यस अर्थमा अहिलेको हाम्रो समाजमा ज्ञान हासिल गरेका मूर्खहरूको हावी छ भन्दा अनुपयुक्त नहोला । क्रमशः