राष्ट्रिय भूकम्प सुरक्षा दिवस: भूकम्पबाट कसरी जोगाउने ३५ हजार विद्यालय ?

10.6k Shares

काठमाडौँ - एक पटक सोचौं त, २०७२ सालमा गएको भूकम्प यदि शनिबार नभएर आइतबार वा अरू दिन गएको भए? भूकम्प कहिले, कुन समय र कहाँ जान्छ ? भन्नेबारे कसैलाई पनि पहिले थाहा हुँदैन। यो सातै बार जुन समयमा र जहाँ पनि जान सक्छ। उदाहरण लियौं भने पहिले गएका भूकम्पले कतै बढी र कतै कम क्षति गरेको होला। हामी भाग्यमानी पनि भयौं होला तर सधैं हामी भाग्यमानी नहुन सक्छौं।

२०७२ सालकै भूकम्पलाई हेर्दा यदि शनिबार नभएर आइतबारै गएको भए अहिले भएको मानवीय क्षति धेरै बढ्न सक्थ्यो। यसर्थ जहाँ मानिसको जमघट तथा भिडभाड धेरै हुन्छ, त्यस्ता स्थानहरूलाई भूकम्पप्रतिरोधी भवन निर्माण गर्न एकदमै आवश्यकता रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी बताउँछन्। उनका अनुसार हजारौं बालबालिका पढ्ने विद्यालय, अस्पताल, बसपार्कजस्ता ठाउँहरू तथा सहरी क्षेत्रमा भएका सबै सपिङ मलहरू भूकम्पीय जोखिम बढी भएको क्षेत्रका रूपमा लिइन्छ।

पृथ्वीको बनावटका कारण नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा पर्छ। भौगर्भिक भूखण्ड, भौगोलिक अवस्थितिको आधारमा नेपालमा भूकम्पको उच्च जोखिममा दुईवटा क्षेत्र पर्छन्। दक्षिणतिर अवस्थित इन्डियन प्लेट र उत्तरतिर अवस्थित युरेसियम प्लेट गरी दुईवटा प्लेटको सिमाना अथवा जोड्ने भागमा नेपाल अवस्थित छ। यसकारण नेपालमा भूकम्प गइरहेको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का अध्यक्ष भूगर्भविद् डा. आमोदमणि दीक्षित बताउँछन्।

उच्च जोखिममा रहेको नेपालमा संरचना कमजोर हुनु अर्को भूकम्पीय दृष्टिकोणले संवेदनशील मानिन्छ। भूकम्पले मान्छे मार्दैन तर भएका संरचनाहरूले च्यापेर मान्छे मर्ने हो। नेपालमा त्यस्ता कमजोर संरचनाहरू धेरै छन्, जसबाट जिउज्यानको क्षति हुने प्रबल सम्भावनाहरू छन्।

‘भूकम्पले मान्छे मार्ने होइन मार्ने हाम्रो घरले हो। हामीले बनाएका संरचनाहरूले नै च्यापिएर मान्छे मर्ने हो,’ डा. दीक्षित भन्छन्, ‘हामीकहाँ भूकम्प धेरै जान्छ र हामीसँग भएका संरचना जे जति छन् कमजोर छन्।’ धेरै भूकम्प जाने क्षेत्र नेपाल हो यसलाई रोक्न सकिँदैन यसकारण सबै मिलेर जानुको विकल्प नरहेको उनको भनाइ छ।

भूकम्पको उच्च जोखिममा शिक्षा क्षेत्र

नेपाल शिक्षा क्षेत्रतर्फ भूकम्पले ठुलो असर गर्दै आएको छ। यहाँ बालबालिकाहरू विभिन्न प्रकृतिका विपद्हरूबाट अत्यन्तै जोखिममा रहेका छन्। यहाँ रहेका तथा बनाइएका संरचनाका कारण विद्यार्थीहरू अध्ययन गरिरहेको अवस्थामा भूकम्प गएको खण्डमा ठुलो मानवीय क्षति हुन सक्छ। एकै उमेरका बालबालिकाले आफ्नो दैनिकीको ठुलो हिस्सा विद्यालयमा बिताउँछन्, तसर्थ विद्यालय क्षेत्र विद्यार्थीले पूर्णतः सुरक्षित महसुस गर्ने र सबै प्रकारका सम्भावित जोखिमबाट मुक्त हुनु पर्दछ।

‘शिक्षा क्षेत्रमा भूकम्पको जोखिमलाई कम गर्नका लागि शिक्षा दिने ठाउँ बलियो हुनुपर्छ, शिक्षक तथा कर्मचारीलाई भूकम्प गइरहेको बेलामा व्यवस्थापनबारे जानकारी तथा तालिम हुनुपर्छ र बालबालिकाहरूलाई भूकम्पीय जोखिमबाट कसरी बच्न सकिन्छ भनेर सिकाउनुपर्छ,’ उनले भने, ‘अर्थात् विद्यालय प्रकोप जोखिम व्यवस्थापनको प्रकृया हुनुपर्यो र विद्यार्थीलाई सानै कक्षादेखि यसबारे पढाउनु र सिकाउनुपर्‍यो।’

भूकम्पको जोखिमबाट बचाउन विद्यालय संरचना एकदमै बलियो बनाउनु नै उपयुक्त उपाय हो। साथै विद्यालयको भवन बलियो बनाउनु तथा शिक्षक र बालबालिकाहरूलाई भूकम्पीय जोखिमबाट बच्नका लागि आवश्यक सचेतना फेलाउनुपर्नेमा जोड दिन्छन् डा. दीक्षित। आजको नागरिक दैनिकबाट 

सम्बन्धित समाचार