काठमाडौं । अमेरिकाको लस एन्जलस यतिखेर डढेलोको चपेटमा छ । आगलागी प्रभावित लस एन्जलस क्षेत्रबाट हजारौँ मानिसलाई अन्यत्र सारिएको छ ।
लस एन्जलस क्षेत्रमा अहिले हिउँदे पानी पर्ने मौसम हो । तर, यस वर्ष हिउँदे पानी नपर्दा यो क्षेत्र निकै सुख्खा थियो । नेसनल जियोग्राफीका अनुसार, लस एन्जलस क्षेत्रमा ११० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चलिरहेको छ । तीव्र गतिको हावा र सुख्खा मौसमका कारण डढेलो निभाउन कठिन भएको हो ।
तीव्र गतिको हावाले डढेलोलाई २२ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढाइरहेको छ । यही कारण आगो निभाउन कठिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाछन् ।
लस एन्जलसका ६ स्थान डढेलोको चपेटमा परेका छन् । मंगलबारबाट सुरु भएको डढेलो शुक्रबारसम्म नियन्त्रणमा आएको छैन । लस एन्जलसको अग्नि नियन्त्रण विभागका अनुसार, हावाको गति नरोकिए लस एन्जलसवासी नै खतरामा पर्नेछन् । डढेलोको चपेटामा परेर १० जनाको मृत्यु भइसकेको छ ।
डढेलो ३४ हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको छ । करिब दुई लाख जनालाई स्थानान्तरण गरिएको छ । दुई लाखभन्दा बढी गम्भीर जोखिममा रहेको चेतावनी दिइएको छ । डढेलोको चपेटमा परेर १० हजारभन्दा बढी भौतिक संरचना ध्वस्त भइसकेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेले डढेलोबाट भएको क्षतिको क्षतिपूर्ति संघ सरकारले बेहोर्ने बताएका छन् । उनले १८० दिनभित्र सबै क्षतिपूर्ति दिने बताएका छन् ।