काठमाण्डाै – तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेशन निर्माण सम्पन्न भएको छ । मर्स्याङ्दी–काठमाण्डाै २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेशनमा हिजाे विद्युत् प्रवाह गरी (चार्ज) सञ्चालनमा ल्याइएको छ ।
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको बिजुली काठमाडौ उपत्यकामा ल्याउन मार्कीचोक सबस्टेशनबाट काठमाण्डाैसम्मको मर्स्याङ्दी–काठमाण्डाै २ सय २० केभी डबल सर्किट प्रसारण लाइनलाई पनि हिजाे नै २ सय २० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।
८२ किलोमिटर याे प्रसारण लाइनलाई विं.सं. २०७९ असार ७ गते १ सय ३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । मार्कीचोक सबस्टेशन चार्ज गरिएसँगै मर्स्याङ्दी–काठमाडौ प्रसारण लाइन २ सय २० केभीमा सञ्चालनमा ल्याइएको हो ।
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको बिजुली काठमाण्डाै उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मर्स्याङ्दी–काठमाण्डाै २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा काठमाण्डाैको मातातीर्थमा २२०/१३२ केभी सबस्टेशन निर्माण गरिएको हो ।
मातातीर्थ सबस्टेशन निर्माण सम्पन्न गरी गएकाे वैशाखदेखि सञ्चालनमा आइसकेको छ । दुवै सबस्टेशनमा १६०/१६० एमभीए क्षमताका दुई/दुई पावर ट्रान्सफर्मर राखिएका छन् । दुवै सबस्टेशनको क्षमता ३२०/३२० एमभीए छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सबस्टेशन सञ्चालनमा आएसँगै मर्स्याङ्दी नदी करिडोरका जलविद्युत् आयोजनाहरूको बिजुली २सय २० केभी प्रसारण लाइनबाट काठमाण्डाै उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताउनुभयो ।
यसबाट देशको एकीकृत विद्युत् प्रणालीको भोल्टेज सुधार भई बिजुली थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माणाधीन मार्कीचोक–भरतपुर खण्ड सम्पन्न भएपछि बिजुली भरतपुरतर्फ पनि पठाउन सकिने बताउनुभयो । मार्कीचोक–भरतपुर खण्ड आउँदाे जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मर्स्याङ्दी–काठमाण्डाै प्रसारण लाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको बिजुली काठमाण्डाै उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली–काठमाण्डाै २ सय २० केभी प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एकआपसमा आबद्ध गरिएको छ । त्रिशूली र मस्याङ्दीका दुवै प्रसारण लाइनलाई बाडभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट) मा आबद्ध गरी मातातीर्थ सबस्टेशनमा समाहित गरिएको छ ।
मर्स्याङ्दी–काठमाण्डाै र त्रिशूली–काठमाण्डाै प्रसारण लाइनबाट आएको झन्डै एक/एक हजार मेगावाट बिजुली बाडभञ्ज्याङमा आबद्ध भई त्यहाँबाट झन्डै दुई हजार मेगावाट बिजुली मल्टिसर्किट प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेशनमा समाहित हुने छ ।
मर्स्याङ्दी–काठमाण्डाै प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेशन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडेर विं.सं. २०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेशनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण अगाडि बढाइएको थियो । दुवै सबस्टेशनको अनुमानित लागत झन्डै सवा दुई अर्ब रुपैयाँ रहेको आयोजना प्रमुख लक्ष्मण फुँयालले उल्लेख गर्नुभयो ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी–काठमाण्डाै प्रसारण लाइन आयोजना शुरू गरिएको थियो ।