म्यान्माको म्यावडीमा नेपालीलाई साइबर अपराधमा लगाइँदै

12.1k Shares

काठमाडौं । नेपालमा र विदेशी मुलुकमा कार्यरत नेपालीलाई राम्रो पारिश्रमिकको लोभमा सूचना प्रविधिसम्बन्धी काममा लगाउने भनी थाइल्यान्ड र म्यान्मामा लगेर बन्धक बनाउन थालेपछि अहिले नेपाल सरकार झस्केको छ ।

म्यान्मा (बर्मा)का कयिन प्रान्तस्थित म्यावडी र सोसँग जोडिएको थाइल्यान्डको मेसटमा बन्धकमा परेको भन्दै पीडितहरूले हाल गुहार गर्न थालेपछि सरकारले ट्राभल एड्भाइजरी जारी गरेको हो ।

मासिक १ लाख तलब हुन्छ । बस्न र खान फ्री हुन्छ भन्दै तस्करहरूले सामान्य प्रलोभनमा पारी बिटक्वाइन, फिसिङलगायतका साइबर अपराधमा लगाउने गरेको उजुरी गत वर्षको साउनमा नै उजुरीहरू परेको थियो ।

मानव तस्करको प्रलोभनमा परी २ वर्षअघि अर्थात २०७९ मंसिर महिनामा नेपाली युवाहरूको एउटा समूह म्यान्मा पुगी अलपत्र परेको थियो । तर पनि सरकारले ठोस कार्य गरेको थिएन ।

तर, अहिले भने धेरै उजुरी परेपछि सरकारले एडभाइजरी जारी गरेको हो ।

मानव तस्करहरूले आईटी क्षेत्रको काम हो भन्दै लग्दै अवैध साइबर अपराधमा लगाउने गर्दै आएका थिए । रोजगारी खोज्दै दक्षिणपूर्वी एसियाली राष्ट्र थाइल्यान्ड, म्यान्मा, कम्बोडिया र लाओस् पुगेर अलपत्र पर्न थालेपछि सरकारले पहल गरेको हो ।

परराष्ट्र मन्त्रालयले थाइल्यान्ड, म्यान्मालगायतका मुलुक जाने नेपालीका लागि ट्राभल एड्भाइजरी जारी गर्दै भनेको छ, ‘थाइल्यान्ड र म्यान्मामा सूचना प्रविधि (आईटी) का क्षेत्रमा आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभन देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा यूएईलगायतका मुलुकमा रहेका नेपालीलाई थाइल्यान्डको बैंकक र म्यान्माको याँगौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट कयाँ प्रान्तको म्यावडीमा लगी जबरजस्ती अवैध कार्यहरूमा लगाउने गरेको पाइएको छ ।’

याँगौंस्थित नेपाली राजदूतावास र बैंककस्थित राजदूतावासमा उजुरीको चाङ परेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मानव तस्करहरूले जबरजस्ती अवैध कार्यहरूमा लगाउने, राहदानी खोसिदिने, १२–१३ घन्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायतका समस्या देखिएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार