काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन् । आगामी महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका निधिले शुक्रबार नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा तीनवटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताएका हुन् ।
उनले आफूले कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको बताए । आफूले कसैलाई ‘रिटायर्ड’ गराउन सभापतिको उम्मेदवार नभएको उल्लेख गर्दै उनले कांग्रेसलाई मजबुत बनाउँदै रुख छापलाई हिमाल, पहाड, मधेशमा स्थापित गराउन र मतदाता र जनतासँग जोड्न आफ्नो उम्मेदवारी रहेको बताए ।
निधिले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताए । आफूहरू संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउनु आवश्यक रहेको भन्दै उनले १४ औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रूपमा प्रष्ट र वैचारिक रूपमा प्रतिवद्ध बनाएर लैजानुपर्ने बताए ।
उनले नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रूपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने दाबी गरे ।
“नेपाली कांग्रेसमा र देशमा, संगठनको संरचनामा क्रमिक रूपमा नेतृत्वमा युवा पुस्ता पनि आउनुपरेको छ । म युवा पुस्ता नेपाली कांग्रेसको नेतृत्वमा आउन सकोस् । युवा पुस्ताले देशको नेतृत्व गर्न सकोस् । त्यसको निम्ति म सहजकर्ताको भुमिका निर्वाह गर्नको लागि पनि म सभापतिको पदमा उम्मेदवारी दिन आफूलाई तयार गरेको छु,” उनले भने ।