ललितपुर – ललितपुरमा 'इन्टेलिजेन्स ट्राफिक लाइट' सञ्चालनमा आएको छ । बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पुल्चोकमा रहेकाे ललितपुर महानगरपालिका अगाडिको सडक छेउमा रहेको 'स्विच अन' गरेर आज यो प्रविधिको शुभारम्भ गर्नुभएको हो ।
ललितपुर महानगरपालिकाको लागतमा गाडी व्यवस्थापनका लागि सडकमा इन्टेलिजेन्स ट्राफिक लाइट शुभारम्भ गरिएको हो । त्यस अवसरमा मन्त्री महर्जनले ललितपुरमा ट्राफिक व्यवस्थापनका लागि राम्रो प्रयासको शुरुआत भएकामा प्रशंसा गर्नुभयो । ‘महानगरका सबै प्रमुख सडक क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि यो प्रणाली प्रभावकारी हुनेछ, देशभर दर्ता भई सञ्चालनमा रहेकामध्ये ६० प्रतिशत गाडी बाग्मती प्रदेशमा छन्, यसलाई व्यवस्थापन गर्नु ज्यादै चुनौतीपूर्ण छ । विज्ञान र प्रविधिमा आधारित गरेर 'स्मार्ट ट्राफिक' व्यवस्थापनका लागि भएको यो काम महत्त्वपूर्ण छ’, उहाँले भन्नुभयो ।
ललितपुर प्रतिनिधि क्षेत्र नम्बर २ का सांसद प्रेमबहादुर महर्जनले नयाँ प्रविधियुक्त प्रणालीले ट्राफिक व्यवस्थापन प्रणालीले यातायात सञ्चालनमा सहजता र यात्रुलाई समय व्यवस्थापनमा प्रभावकारी हुने बताउनुभयो ।