काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर जिल्ला सभापतिहरू धर्नामा बस्ने भएका छन् । आजदेखि केन्द्रीय कार्यालय सानेपामा इतर समूहका सभापतिहरू धर्नामा बस्न लागेका हुन् ।
क्रियाशील सदस्यताको सूची सार्वजनिक नगरेकाले धर्नामा बस्नुपर्ने अवस्था आएको कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिए । लामाका अनुसार आज बिहान ११ बजेदेखि धर्ना सुरु हुनेछ ।
क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएसम्म धर्नासहित अरू संघर्षका कार्यक्रम गरिने लामाले बताए । “आज हामी काठमाडौंमा उपलब्ध भएजति सभापतिहरू गएर धर्ना सुरु गछौँ,” उनले भने, “क्रियाशीलमा मनपरी भएको छ, कार्यकर्ताले सूची हेर्न नपाएसम्म धर्ना जारी रहन्छ ।”
संस्थापनइतर समूहका जिल्ला सभापतिहरूले क्रियाशील विवाद समाधानको नाममा नियमविपरीत क्रियाशील थप्ने र आफ्ना विरोधीहरूलाई हटाउने काम गरेको भन्दै विरोध गरेका छन् । संगठन समायोजनको नाममा पनि विधान मिचेको उनीहरूको आरोप छ ।
एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाहरूमा सभापति चयन क्षेत्रीय प्रतिनिधिबाट गर्दा जिल्ला सभापतिहरूको अपमान भएको पनि आरोप लगाइएको छ । “हामीले विषय उठाउँदा होइन भनेर नेतृत्वले टार्छ,” लामाले भने, “त्यसो होइन भने सार्वजनिक गर्न किन डराएको त ?”
आज हुने धर्नाको नेतृत्व काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बानियाँले गर्ने लामाले जानकारी दिए ।