काठमाडौं, भदौ ७ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता टुंग्याउन बनेको कार्यदलले सोमबार पनि आफ्नो कार्य नसकेको बताइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई कार्यदलले क्रियाशील सदस्यताको विवाद टुंगाएर आइतबार प्रतिवेदन बुझाउने भनिएको थियो। कार्यदलमा रहेका सदस्यहरुबीच मतैक्यता हुन नसकेपछि प्रतिवेदन बुझाउने समय सोमबारका लागि सारिएको थियो ।
तर, सभापति देउवालाई प्रतिवेदन बुझाउनका लागि कार्यदलले सोमबार समय नलिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलमा सहमति हुन नसकेको बताइएको छ। तीन नेताबीच निरन्तर छलफल भएपनि सहमतिको विन्दु फेला नपरेको बताइएको छ ।
अन्य दलबाट कांग्रेस प्रवेश गरेकालाई क्रियाशील सदस्यता वितरणमा विवाद रहेको छ। साथै, नवीकरणमा पुराना क्रियाशील सदस्यता नियतवश हटाइएको आरोप पनि संस्थापनइतरको छ ।
भदौ ३ भित्र सहमति पहिल्याएर प्रतिवेदन बुझाउन केन्द्रीय समितिले नेतात्रयलाई जिम्मेवारी दिएको थियो। कार्यदललाई दिइएको अवधि चार दिन घर्किसकेको छ ।
भदौ १८ मा वडा तहको अधिवेशन गर्ने गरी कार्यतालिका बनेको छ। क्रियाशील सदस्यताको विवादले उक्त कार्यतालिका पनि आशंका हुने डर कांग्रेस भित्र छ ।