सिरियाको राजधानी कब्जा गर्ने विद्रोही कमाण्डर को हुन् ?

12.2k Shares

काठमाडौं । विद्रोहीहरुले सिरियाको राजधानी कब्जा गरेपछि राष्ट्रपति बसर अल असादले देश छाडेका छन् । इस्लामी विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले राजधानीसमेत कब्जा गरेपछि राष्ट्रपति असाद देश छाड्न बाध्य भएका हुन् ।

सन् २०११ मा राष्ट्रपति बसर अल असादविरुद्ध शान्तिपूर्ण विरोध सुरु भएको थियो । लोकतन्त्र समर्थकहरुको यही विरोध पछि गृहयुद्धमा परिणत भयो । यो गृहयुद्धमा सिरिया मात्रै होइन, क्षेत्रीय र विश्वका अन्य शक्ति राष्ट्रहरु पनि जोडिए । त्यसबेलादेखि हालसम्म युद्धमा पाँच लाखभन्दा बढी मारिइसकेका छन् भने एक करोड २० लाख जना विस्थापित भएका छन् ।

विद्रोही समूह एचटीएसका प्रमुख अबु मोहम्मद अल जुलानी हुन् । अमेरिकाले उनको टाउकोको मूल्य एक करोड डलर तोकेको थियो । उनीमाथि मानवअधिकार उल्लंघनको आरोप छ । तर उनी विश्व सामु आफूलाई उदारवादी नेताको रुपमा चिनाउन खोज्छन् ।

अबु मोहम्मद अल जुलानीको वास्तविक नाम र उमेर भने विवादित छ । अमेरिकी प्रसारक पीबीएसले फेब्रुअरी २०२१ मा अल जुलानीको अन्तर्वार्ता प्रसारण गरेको थियो । त्यस समय उनले आफ्नो नाम ‘अहमद अल शारा’ बताएका थिए । उनको जन्म साउदी अरबको राजधानी रियाद शहरमा भएको थियो । रियादमा उनका बुवाले काम गर्दथे । तर उनको पालन पोषण भने सिरियाको राजधानी दमास्कसमा भएको थियो । त्यसैले उनी आफूलाई सिरियाकै नागरिक भएको बताउँछन् ।

मिडिया रिपोर्ट अनुसार विद्रोही समूहमा लाग्नुभन्दा अगाडि उनले चिकित्सा शिक्षा पढेका थिए ।

सम्बन्धित समाचार