काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समीक्षा गरिने बताएका छन् । उनले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी–कमजोरीबारे समीक्षा गरिने बताएका हुन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत एमाले विजयी भएको उनले उल्लेख गरे । उनले स्थानीय तह उपनिर्वाचन परिणामका विषयमा पार्टी निराश हुनुपर्ने कारण नरहेको बताए । आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकामा समीक्षा गरिने उनले स्पष्ट पारे ।
उनले काठमाडौंको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहे पनि गत निर्वाचनको भन्दा प्रगति भएको बताए । हाल पुराना राजनीतिक दलहरू ‘आउटडेटेड’ भए भन्ने भाष्य खडा गरिए पनि जनमतबाट पुष्टि हुन नसकेको उनले उल्लेख गरे । जनताले अझै पुराना राजनीतिक दलहरूबाट आशा र विश्वास कायमै राखेको उनको जिकिर छ ।
राष्ट्रिय राजनीतिमा पुराना दलहरूको भूमिका कमजोर भन्ने भनाइलाई जनताले अस्वीकार गरेको उनले टिप्पणी गरे ।