श्रमिकको स्वास्थ्य परीक्षण स्वास्थ्य बीमा मार्फत गर्न श्रम मन्त्रालयलाई सुझाव

11.6k Shares

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा मार्फत नै  गर्ने व्यवस्था मिलाउन वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारको लागि गठित अध्ययन कार्यदलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई सुझाव दिएको छ ।

कार्यदलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा मार्फत नै श्रमिकको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन श्रममन्त्री भण्डारीलाई सुझाव दिएको हो । नेपाल सरकारले २०७२ साल देखि स्वास्थ्य बीमा सञ्चालन गरेको छ । स्वास्थ्य बीमालाई सरकारले अनिवार्य गरेको छ । 

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई परिवारको स्वास्थ्य उपचारको भार थप नहोस भनी स्वास्थ्य बीमा बोर्डले ‘वैदेशिक रोजगारीमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यविधि २०७८’ समेत जारी गरेको छ । 

कार्यविधि अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिंदा परिवारको स्वास्थ्य बीमाको अद्यावधिक परिचय पत्र पेश गर्नुपर्नेछ । वैदेशिक रोजगारमा गएका व्यक्तिको परिवारको बीमालेख नवीकरण बीमालेख म्याद समाप्त हुनु एक महिना अगावै गर्नुपर्नेछ । तीन हजार ५०० मा बीमाशुल्क भुक्तानी गरी एकाघर परिवारका ५ जना परिवारको स्वास्थ्य बीमा गर्न सकिने सरकारले सुविधा दिएको छ । 

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने श्रमिकहरुको स्वास्थ्य परीक्षणमा एकरूपता कायम गर्न कार्यदलले सुझाव दिएको छ । 

वैदेशिक रोजगारीका लागि जाने सबै श्रमिकले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्छ  । तर, अहिले मुलुक अनुसार स्वास्थ्य परीक्षणको शुल्क कायम गरिएको छ । यसले स्वास्थ्य संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै कार्यदलले सबै मुलुकको जाने श्रमिकको स्वास्थ्य परीक्षणको शुल्कमा एकरूपता कायम गर्न सुझाव दिएको हो । 

हालको व्यवस्था अनुसार जापान, कोरिया, अमेरिका अष्ट्रेलिया जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क १२ हजार कायम गरिएको छ । मलेसियाको लागि नौ हजार ५०० कायम गरिएको छ भने कतार साउदी अरब लगायतका मुलुकमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५०० कायम गरिएको छ । 

सम्बन्धित समाचार