पर्यटन व्यवसायीको गुनासो: क्यानको लापर्बाहीले हवाई भाडा वृद्धि

13.8k Shares

काठमाडौँ -  नेपाल नागरिक उड्डयन प्राधिरकण (क्यान)को लापर्बाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक बढेको पर्यटन आरोप व्यवसायीले लगाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने क्रममा विमानस्थल बन्द हुँदा हवाई यात्रुलाई पर्ने असुविधाप्रति क्यानले बेवास्ता गर्दा हवाई भाडा बढेको उनीहरूले बताए।

दैनिक हजारौं स्वदेशी र विदेशी हवाई यात्रु आवतजावत गर्ने अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र बिस्तार गर्दा सोहीअनुसारको गृहकार्य नपुगेको ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले बताए। ‘क्यानले समयमै वायुसेवा प्रदायक कम्पनीलाई यसबारे छलफल गरेर समाधान नखोज्दा सम्पूर्ण हवाई यात्रु मारमा परे,’ उनले भने, ‘वायुसेवा कम्पनी जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्रलाई सर्ट नोटिस दिएर हुन्छ ?

धेरै अगाडिदेखि विमानस्थल बिस्तार गर्ने कुरा आइरहेको भए पनि क्यानले सम्बन्धित पक्षलाई पर्याप्त समय दिएर यात्रुहरूलाई पर्न सक्ने मर्कालाई न्यूनीकरण गर्न योजना तयार नगर्नु क्यानको कमजोरी भएको उनले बताए। प्राधिकरणले छोटो सूचना दिएर वायुसेवा कम्पनीलाई काम गराउन खोज्दा मुलुकको हवाई क्षेत्रलाई निर्देशित गर्ने प्रशासनिक निकायको कमजोर र अव्यवहारिक दृष्टिकोण छताछुल्ल भएको अध्यक्ष पाण्डेले आरोप लगाए।

नियामक निकायको अदूरदर्शी तवरले काम गर्ने कमजोर प्रणालीका कारण समग्र मुलुकको हवाई क्षेत्रप्रति नराम्रो सन्देश गएको पर्यटन व्यवसायी बताउँछन्। प्राधिकरणले वायुसेवा कम्पनीलाई पर्याप्त पूर्वतयारीको समय नदिदाँ यो अवस्था आएको अध्यक्ष पाण्डेले बताए। ‘यो सवालमा क्यान चुकेको छ,’ उनले भने, ‘क्यानको कारण अन्तर्राष्ट्रिय स्तरमै नेपालको हवाई क्षेत्र पुनः आलोचित बन्नुप¥यो।’

राज्यका निकायले अपरिपक्व तवरले काम गरिदिँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालको हवाई क्षेत्रको छवि धमिलिने र यात्रु पनि मारमा परेका छन्। अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले नेपालमा उडान गर्न नरूचाउने जोखिम बढेको छ। सरकार र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा नगर्दा यात्रु, वायुसेवा कम्पनी र समग्र पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर परेको अध्यक्ष पाण्डेले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक लामो समयसम्म बन्द भएसँगै अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक बढेको छ। विमानस्थल ट्याक्सी वे विस्तारका लागि गत बिहीबार रातीदेखि दैनिक १४ घण्टा मात्र सञ्चालन हुने भएपछि सबैजसो अन्तर्राष्ट्रिय हवाईसेवा प्रदायक कम्पनीले चर्को भाडा असुल्न थालेका हुन्।

यसैक्रममा विभिन्न निकाय तथा संघसंस्थाले हवाई सेवा कम्पनीले मनोमानी तवरले बढाएको भाडा वृद्धिबारे बिरोध गरिरहेका छन्। सम्बन्धित मन्त्रालय तथा मन्त्रीहरूलाई भेटेर चर्को हवाई भाडा वृद्धिदर घटाइदिन आग्रह गरेका छन्।

यस्तै विमानस्थल विस्तारको क्रममा गर्नुपर्ने पूर्वतयारी नगरेको होटल एसोसिएसन हानका अध्यक्ष विनायक शाहले बताए। ‘विमानस्थल बिस्तार कार्यले पर्यटन क्षेत्र र यात्रुमा पर्ने मर्काबारे क्यानले अपेक्षित गृहकार्य गरेको देखिएन्’ अध्यक्ष शाहले भने, ‘सरकार काम गर्न त खोज्छ तर कामबारे कहिले पनि उचित अध्ययन र योजना बनाउँदैन।’ परिणमस्वरूप समग्र मुलुक र त्यससँग सम्बन्धित क्षेत्रले त्यसको मूल्य चुकाउनुपर्ने उनले बताए। साथै उनले पर्यटक आउने समयमा सरकारले विमानस्थल बिस्तार गर्दा पर्यटन व्यवसायी मारमा परेको बताए। आजको नागरिक दैनिकबाट 

सम्बन्धित समाचार