काठमाडौं, २७ साउन । नेपाल विद्युत प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालपछि ठूलो चुनौती थपिएको प्रतिक्रिया दिएका छन् । पदबहालीपछि बुधबार प्राधिकरणमा आयोजित स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा निर्देशक घिसिङले यस्तो बताएका हुन् ।
‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु,’ यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ,’ उनले भने, ‘यो चुनौती भन्दा अरु केही हुने छैन ।’ उनले प्राधिकरणलाई अगाडि बढाउनु पर्छ भन्ने जनअपेक्षा आएकाले चुनौती स्वीकार गरेको बताए । उनले थपे’ ‘यो चुनौती म एक्लैले गर्न सक्दैन । सबै मिलेर काम गर्नुपर्छ । टिमवर्कले काम गर्नुपर्छ ।’
उनले विधुत प्राधिकरणको सेवालाई अझ राम्रो बनाउने प्रतिवद्धता जनाए । अनियमिताबारे गुनासाहरु आएको भन्दै सुशासन र गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्ने उनले विश्वास व्यक्त गरे । आफूलाई सरकारले ४ वर्षका लागि नियुक्त गरेको र यसअघिका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई पनि ४ वर्षकै लागि ऊर्जा आयोगमा सम्मानजनक हैसियतमा पठाइएको उनले बताए ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई दोस्रो पटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा ४ वर्षे कार्यकाल पुरा गरी विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनलाई ४ वर्षका लागि नियुक्त गरिएको हो ।