चितवनमा प्रेमी र भिनाजुद्वारा बालिकामाथि सामूहिक बलात्कार

12.2k Shares

काठमाडौं– चितवनकी १५ वर्षीया एक बालिकामाथि सामूहिक बलात्कार भएको छ। जिल्ला अदालत चितवनमा कात्तिक १३ गते दर्ता भएको मुद्दाअनुसार फुपूको घरमा गएकी बालिकालाई फकाएर प्रेमी र भिनाजुले बलात्कार गरेका हुन्।

भरतपुर महानगरपालिकाभित्र घर भएका प्रेमीले बालिका आफ्नो घरबाट फुपूको घर गएको मौकामा असोज २० गते राति १२ बजे बालिकालाई फकाएर भेट्न बोलाएका थिए।

चितवन प्रहरीमा बालिकाकी आमाले दिएको जाहेरीअनुसार २० वर्षीय प्रेमी प्रमेश गुरुङले फकाएर मध्यरातमा फुपूको घरबाट केही पर धान खेतमा बालिकामाथि जबरजस्ती गरेका थिए। रातको समयमा मदिरा सेवन गरेका प्रेमीले बलात्कार गरेपछि आफ्नै भिनाजुले पनि उनलाई बलात्कार गरी रगताम्य बनाएर धान खेतमा छाडेर हिँडेका थिए।

उनीहरू दुवैजना हिँडेपछि बालिकाले आमालाई फोन गरेर बोलाएकी थिइन्। विक्षिप्त अवस्थामा बालिकालाई घर लगेपछि परिवारले जाहेरी दिएका हुन्। प्रहरीले घटनामा संलग्न अभियोगमा दुबैजनालाई पक्राउ गरेर मुद्दा दर्ता गरिसकेको छ। मुलुकी फौजदारी संहिता अनुसार १८ वर्षमुनिका बालिकासँग सहमति लिएर पनि शारीरिक सम्पर्क गरेमा बलात्कार ठहर हुन्छ।

सम्बन्धित समाचार