तेक्वान्दोका सफल जोडी र मनकारी परिवार

18.3k Shares

नेपालको समग्र खेलकुदको ईतिहासमा १९९८ मा थाईल्याण्डको राजधानी वंैककमा सम्पन्न १३ औं एशियाली खेलमा तेक्वान्दो खेलमार्फत् नेपालले पहिलो ऐतिहासिक रजत पदक प्राप्त गरेको हो । उक्त ऐतिहासिक पदक प्राप्त गर्ने तेक्वान्दो खेलाडी सविता राजभण्डारी हुन् । सोही एशियाली खेलमा तेक्वान्दो खेलाडीद्वय किशोर श्रेष्ठ र सपना मल्लले कास्य पदक प्राप्त गरेका थिए । पछि सविता र किशोरले काठमाडौंमा सन १९९९ मा भएको ८ औं दक्षिण एशियाली खेलमा राष्ट्रका लागि स्वर्ण पदक हासिल गरेका थिए । तेक्वान्दोका अव्वल खेलाडीद्वय किशोर र सविताले अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा आफ्नो उत्कृष्टता प्रमाणित गरेका थिए । यी दुवै सफल खेलाडी बैवाहिक जीवनमा बांधिएर सफल र प्रेरणादायी तेक्वान्दो जोडीको रुपमा स्थापित र परिचित बन्न सफल बनेका छन् ।
सविता राजभण्डारी सफल खेलाडी बन्नुका साथै कुशल प्रशिक्षकको रुपमा पनि परिचित भएकी कारण पाकिस्तानको राष्ट्रिय टोलीलाई पाकिस्तानमै गएर तिन महिना प्रशिक्षणसमेत दिएकी थिइन् । उनीद्वारा प्रशिक्षित खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी पाकिस्तानलाई मेडलसमेत दिलाउन सफल बनेका थिए । 
भण्डारीको श्रीमान किशोर श्रेष्ठले पनि काठमाडौंको स्वयम्भुमा तेक्वान्दो जोडाङ स्थापना गरी राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सफल बनेका थिए ।
केही समय राष्ट्रिय खेलकुद परिषदले दिएको करार सहायक प्रशिक्षकमा रहेका यी जोडीले सायद उक्त करार जागिरबाट आएको पारिश्रमिकले आफ्नो र बालबच्चाको भविष्य नदेखेर वा सुनिश्चित नहुने देखेर यी तेक्वान्दोका सफल जोडी अमेरीकातिर लागे ।
करीव २ दशकदेखि अहिले पनि यी दुई जोडी र बालबच्चासहित अमेरीकामै बसोबास गर्दै आईरहेका छन् । नेपालमा रहँदा हरदम तेक्वान्दो खेलमा सक्रिय रहेका सविता किशोरको जोडी अमेरीका बसाईमा भने अलिक फरक रहन गयो र अन्य काम र पेशामा व्यस्त रहन थाले । अन्य पेशामा लागे पनि यी दुई जोडीले तेक्वान्दो खेलको विकास, खेलाडीको मनोबल बढाउने र नेपालप्रति उनीहरु सदैव सक्रिय रहँदै आइरहेका छन् । विशेष गरी नेपालको तेक्वान्दो खेलको बारेमा सदैव चिन्ता गर्ने यीे तेक्वान्दो जोडीले नेपालको राष्ट्रिय टिमलाई निरन्तर रुपले आफूले सकेको सहयोग र समर्थन गर्ने प्रतिवद्धता जनाउँदै आइरहेका छन् । दक्षिण एशियाली खेल होस वा एशियाली खेल वा अन्य ठूला प्रतियोगितामा सहभागि हुने राष्ट्रिय तेक्वान्दो टिमलाई सहयोग गर्दै आईरहेका छन् । कुनै प्रयोजनमा अमेरीका पुग्ने राष्ट्रिय खेलाडी र तेक्वान्दो कर्मीहरुलाई अमेरीकामा सक्दो सहयोग गर्नुका साथै उनीहरुले सदैव आफूहरुले यस्तै व्यवहार गर्ने वचनवद्धता पनि गरिरहेका छन । 
तेक्वान्दो खेलमा सफल र स्थापित जोडी किशोर र सविता खेलकुदका साथै नेपाल र नेपाली समाजप्रति पनि चिन्ता गर्दछन् । त्यसैले त २०७२ सालको विनाशकारी भूकम्पको बेला प्रधानमन्त्री राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै कोभिड–१९ को महामारीमा पनि गत बर्ष नेपाल सरकारलाई ५ लाख रुपैयाँका साथै सामाजिक अभियन्ता महावीर पुनको आविष्कार केन्द्रलाई पनि एक लाख सहयोग गर्न पछि परेका छैनन् । 
किशोर र सविताको जोडीले आफ्ना सन्तान १७ बर्षिय छोरा जोसेफ र १५ बर्षिय छोरी जेसिकालाई पनि उच्च संस्कारका साथै समाजप्रति उत्तरदायित्व बोधको राम्रो शिक्षा दिएको पाईन्छ । त्यसैले त विनाशकारी भूकम्पको बेला जोसेफ र जेसिकाले आफ्नो खाजा खर्च कटाएर र आफ्ना छिमेकी र साथीहरुसंँग अनुरोध गरी संकलन गरेको एक लाख रुपैयाँ नेपाल सरकारलाई पठाएका थिए । 
सविता र किशोरको जोडीको बारेमा किशोरका सहकर्मी तेक्वान्दो प्रशिक्षक हेमन्त डांगीले किशोर र सविता उम्दा तेक्वान्दो खेलाडी भएको र उनीहरुसँग नियमित सम्पर्क र सम्वाद हुने गरेको बताउँछन् । यी दुई जोडीले नेपालको तेक्वान्दो खेल र खेलाडीहरुप्रति निस्वार्थ भावले चासो राख्ने गरेको डाँगी बताउँछन् । उनीहरुको समग्र परिवारमा समाजप्रतिको चासो र उत्तरदायिबोध प्रसंसनीय छ । वास्तवमा यो सफल र मनकारी परिवारलाई  हृयदेखि नै प्रसंशा गर्न चाहेको प्रशिक्षक डांगीले बताए । 
खेलकुदको माध्यमबाट नेपाल र नेपालीको नाम र प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा उचो पार्नमा योगदान पु¥याउँदै नेपाली समाजप्रति पनि उत्तरदायी बोध गर्ने यो तेक्वान्दो परिवार तेक्वान्दो खेलमा मात्र नभई समस्त समाजलाई नै प्रेरणाको एक उत्कृष्ट माध्यम हुने कुरामा दुईमत छैन । 

सम्बन्धित समाचार