ललितपुर । भद्र र सालिन स्वभावका ललितपुर गुईटोल निवासी तेक्वान्दो खेलका पाँचौं डान शरण महर्जन खेलकुददेखि लिएर सामाजिक सेवा, स्वयम सेवकमा पनि त्यतिकै सक्रियरुपमा लाग्ने व्यक्तिको रुपमा परिचित छन् ।
२०४८ सालबाट तेक्वान्दो खेल्न सुरु गरेका महर्जनले श्रमजित स्कुलको प्रांगणबाट गुरु दिवाकर डान महर्जनद्वारा प्रशिक्षण लिन सुरु गरेका हुन् ।
खेलाडी जीवनमा शरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको अनुभव बटुलिसकेका छन् । उनले अन्तर्राष्ट्रियस्तरको मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा पटक—पटक स्वर्णपदक ल्याई देशको नाम विश्वसामु चिनाउन सफल बनिसकेका छन् ।
पछिल्लो समय शरणले आफू मूख्य प्रशिक्षक तथा संस्थापकको रुपमा ज्यापु समाज तेक्वान्दो डोजाङ खोली प्रशिक्षण दिँदै आइरहेका छन् । सुरुमा ज्यापु समाज डोजाङमा स्थानीय १५ जना खेलाडीलाई प्रशिक्षण दिँदै आएका शरणले हाल ५० जना भन्दा बढी खेलाडीहरुलाई प्रशिक्षण दिँदै आइरहेका छन् । विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण केही समय बन्द रहेको प्रशिक्षण केही दिनपछि नै निरन्तरता दिने सोचका रहेको शरण बताउँछन् ।

नेपालको परिवेशमा भन्नुपर्दा खेलकुद क्षेत्रमा लागेर आफ्नो दैनिकी चलाउन धौ—धौ पर्ने अवस्था छ । आम्दानीको हिसावले भन्नुपर्दा आफ्नो दैनिकी र बालबच्चालाई उच्च शिक्षा दिने अवस्था नै छैन । तै पनि आफू खेलकुद क्षेत्रमा लागेर केही गर्नुपर्छं भन्ने उद्देश्य बोकेर लागेको उनी बताउँछन् । खेलकुदमा लागेर नाम र ईज्जत कमाएकोमा आफू सन्तुष्ट भएको पनि शरण बताउँछन् ।
तेक्वान्दो खेलाडीदेखि लिएर प्रशिक्षक र निर्णायकसमेत बनिसकेका शरण स्काउटदेखि लिएर विभिन्न समाजसेवा, स्वयम् सेवकको कार्यमा समेत आवद्ध रहँदै आइरहेका छन् । बास्तवमै भन्नुपर्दा नेपालको खेलकुद क्षेत्रको विकासको जिम्मेवारी लिएको राष्ट्रिय खेलकुद परिषद र अन्य जिम्मेवार निकायबाट खासै सहयोग नभए पनि आफ्नो वडाबाट मात्र केही सहयोग मिलेको उनी बताउँछन् । खेलकुद विकासको लागि जिम्मेवार लिएको राज्यको सम्बन्धित निकायले हामीजस्ता खेलकुद विकासका लागि केही गरौं भन्नेलाई केही सहयोग गरी उत्साहित बनाउनुपर्नेमा बेवास्था गरेका कारण पनि आफूलाई दुःख लागेको शरण बताउँछन् ।

शरणद्वारा प्रशिक्षित खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागिता जनाइसकेका छन् । शरणद्वारा प्रशिक्षित खेलाडी निसा राउतले ओलम्पिक गेममा समेत सहभागिता जनाईसकेकी छिन् ।
शरण भन्छन् ‘नेपालको खेलकुद क्षेत्र हेर्ने निकायले खेलकुद क्षेत्र नै बुझेका छैनन् ।’ खेलकुद क्षेत्र भनेको यस्तो क्षेत्र हो जसले देशका नाम विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यस्तो क्षेत्रलाई समेत राज्यका जिम्मेवार निकायले खासै महत्व नदिएको देख्दा आफूलाई साह्रै दुःख लाग्ने गरेको शरण बताउँन् । फुटबल खेलकै कारण विश्वका कुना कुनामा रहेका मानिसहरुले अर्जेन्टिना, ब्राजिललगायतका देशलाई चिनेका हुन् । यसबाट पनि नेपालको खेलकुदको जिम्मेवारी लिने निकायले खेलकुदलाई कसरी विकास र अन्तर्राष्ट्रिस्तरसम्म आफ्ना खेलाडीहरुलाई कसरी सहभागिता गराउन सकिन्छ भन्ने तिर लग्नु पर्नेमा उल्टो खेलकुदै नबुझेकाहरुलाई राजनीतिक नियुक्ती गरी खेलकुद क्षेत्रलाई नै तहसनहस पर्ने कार्य राज्यबाटै भइरहेको छ । जबसम्म खेलकुद क्षेत्रमा खेलकुद बुझेकालाई नेतृत्वमा ल्याईँदैन तबसम्म नेपालको खेलकुद क्षेत्रको विकास सपनामा मात्र हुने शरण बताउँछन् ।
ज्यापु समाज तेक्वान्दो डोजाङका साथै बालकुमारीस्थित भोल ढोकामा रहेको युनिभर्सल स्कुलमा विद्यार्थीहरुलाई पनि प्रशिक्षण दिँदै आइरहेका शरणले सो स्कुलको प्रशासनिक जिम्मेवारी पनि बहन गर्दै आइरहेका छन् ।
राष्ट्रियस्तरका निर्णायकसमेत बनिसकेका शरणले थुप्रै राष्ट्रियस्तरका तेक्वान्दो प्रतियोगिताको सफलतापूर्वक निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् भने नेपाल तेक्वान्दो संघ ललितपुरको सह—सचिवका साथै महानगर तेक्वान्दो कमिटीको सचिवको रुपमा जिम्मेवार सम्हाल्दै आएका छन् शरणले ।