न्युयोर्क । संयुक्त राष्ट्रसंघले लेबनानमा हिजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने जनाएको छ ।
इरान समर्थित हिजबुल्लाह समूहले प्रयोग गरेको सञ्चार उपकरणलाई लक्षित गरी मंगलबार र बुधबार गराइएको विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको थियो । घटनामा करिब तीन हजारजना घाइते भएका थिए ।
पेजर र वाकीटकी विस्फोट हुँदा केही प्रयोगकर्ता सुपरमार्केटमा किनमेल गरिरहेका थिए । कोही सडकमा हिँडिरहेका थिए । लगातारको विस्फोटको लहरले देशमा आतंक निम्त्याएको थियो ।
“अन्तर्राष्ट्रिय मानवीय कानुनले स्पष्ट रूपमा बुबी–ट्र्याप उपकरणको प्रयोगलाई निषेध गर्छ,” मानवअधिकारका निम्ति संयुक्त राष्ट्रसंघका उच्चायुक्त भोल्कर टर्कले अल्जेरियाले अनुरोध गरेको लेबनानमा आपत्कालीनसत्रमा सुरक्षा परिषद्मा भने ।
“नागरिकमा आतंक फैलाउने उद्देश्यले हिंसा गर्नु युद्ध अपराध हो,” उनले स्वतन्त्र र पारदर्शी अनुसन्धानका निम्ति आफ्नो आह्वान दोहोर्याउँदै भने ।
लेबनानी अधिकारीले आक्रमणका लागि इजरायललाई दोष दिएका छन् । लक्षित सञ्चार उपकरणमा देशमा प्रवेश गर्नुअघि बुबी–ट्र्याप जडान गरिएको उनीहरूले बताएका छन् ।
हिजबुल्लाहले इजरायलसँग प्रतिशोध लिने वाचा गरेको छ । विस्फोटको आन्तरिक अनुसन्धान सुरु गरेको छ ।
सुरक्षा परिषद्मा बोल्दै लेबनानका शीर्ष कूटनीतिज्ञ अब्दल्लाह बोउ हबीबले आक्रमणलाई युद्धको अभूतपूर्व तरिकाका रूपमा व्याख्या गरेका छन् ।
“इजरायलले यस आतंकवादी आक्रमणको माध्यमबाट अन्तर्राष्ट्रिय मानवीय कानुनको आधारभूत सिद्धान्तको उल्लंघन गरेको छ,” उनले भने ।