बैतडी -
इजरिया भावरिया काँधमा बौसिया
कर्महारा गरिबको मन भने हौसिया !
कुनै बेला पहाडमा कोदालो (‘इजरिया’ बौँसो) ले पाखोबारी खन्दा पनि वर्ष दिन खान नपुग्ने गरिब घरपरिवार तराई (भावर) झर्थे । पछिल्लो समय भावर बसाइँ सर्नेमा मध्यम वर्गदेखि नेता, जनप्रतिनिधि र निजामती कर्मचारीको सङ्ख्या बढेको छ । पहाडका इजर (पाखोबारी) भने बाँझो हुँदै गएका छन् ।
बसाइँसराइका कारण पहाडी जिल्ला बैतडीको जनसङ्ख्या हरेक वर्ष ऋणात्मक हुँदै गएको छ । २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेको थियो । २०७८ को जनगणना हुँदा छ हजार ४९८ जनसङ्ख्या घटेर दुई लाख ४४ हजार चार सयमा झरेको छ । तथ्याङ्क अनुसार पहाडी जिल्ला बैतडीको वार्षिक जनसङ्ख्याको ह्रास दर ऋणात्मक (–०.२५ प्रतिशत) छ ।
जिल्ला सदरमुकाम रहेको दशरथचन्द नगरपालिकाबाट तराईका जिल्लामा बसाइँ सर्नेको सङ्ख्या ह्वात्तै बढेको छ । मानिस बसाइँ सरेर गएका कारण उक्त नगरपालिकाको ४, ५, ६, ८ र १० नम्बर वडाका सयौँ परिवारको ७५ हजार १०४ रोपनी जग्गा बाँझो छ । नगरको पञ्जीकरण शाखाको तथ्याङ्क अनुसार आव २०८०/८१ को एक वर्षको अवधिमा यहाँका ८५४ परिवार (करिब तीन हजार जनसङ्ख्या) बसाइँ सरी गएका छन् । पछिल्लो तीन वर्षयता दशरथचन्द नगरपालिकाको ४० हजार जनसङ्ख्या घटेर ३० हजारमा झरेको छ ।
सदरमुकामसमेत रहेको नगरपालिकामा बसोबास बढ्नुपर्ने भए पनि यहाँका बस्ती रित्तिएपछि दिउँसै सन्नाटा छाएको छ । ढोकामा ताल्चा लगाएर छाडिएका खाली घरवरिपरि सिस्नो र वनमाराको झाडी पलाएको छ । गाउँमा भेटिने दुई/चार जना पाका मानिस उदास देखिन्छन् । भारतीय सीमा क्षेत्र झुलाघाट नाकानजिकै भए पनि व्यापार व्यवसाय चलायमान हुन सकेको छैन । सदरमुकामका अधिकांश होटल बन्द छन् ।
पछिल्लो समय पहाडी बस्ती डरलाग्दो किसिमले रित्तिन थालेको जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका प्राध्यापक डा. सुरेन्द्र बमले बताउनुभयो । जनसङ्ख्या घट्दा त्यसको प्रत्यक्ष असर शैक्षिक संस्थामा परेको र अङ्ग्रेजी, गणित र नेपाली विषयको पढाइ हुनेमा गणित विषय पढ्ने एक जना पनि विद्यार्थी भर्ना नभएको उहाँले बताउनुभयो ।
पाँच वर्षअघि छ सय विद्यार्थी अध्ययन गर्ने गरेकामा अहिले २४० जना मात्रै छन् । बसाइँसराइले विद्यार्थीको सङ्ख्या आधाभन्दा बढी घटेको हो । बस्ती नै बसाइँ सरेर भावर हिँडेपछि दशरथचन्द नगरपालिकाका छ वटा विद्यालय अर्को विद्यालयमा गाभिएका छन् ।
पाटन नगरपालिका–१०, सल्लेबासा माविनजिकैको पूरै बस्ती बसाइँसराइ गरेर जाँदा गाउँ सुनसान छ । बसाइँसराइ रोक्न नसक्दा विद्यार्थी सङ्ख्या घट्दै गएको सरस्वती मावि सल्लेबासाका प्रधानाध्यापक लोकराज भट्टले बताउनुभयो । राज्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारसँगै बस्ती व्यवस्थापनको योजना ल्याउन नसके केही वर्षमै पहाडको जनसङ्ख्या रित्तिएर राज्यको लगानी बालुमा पानी हुने उहाँले बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट